• १५ कात्तिक २०८१, बिहिबार

चेतमानको चङ्गा

blog

दसैँको बेला केटाकेटी चङ्गा उडाएर रमाइरहेका थिए । निलो आकाशमा थरी थरीका रङ्गीबिरङ्गी चङ्गा उडिरहेका थिए । रुखमा एउटा धर्के चङ्गा अड्किएको थियो । त्यो चङ्गा फिरफिर हल्लिरहेको थियो । चेतमान त्यो चङ्गालाई हेरेर टोलाइरहेको थियो । ऊ त्यो चङ्गा रुखबाट झरेपछि लिउँला भनेर बसेको थियो तर त्यो चङ्गा फिरफिर हल्ली मात्रै रह्यो । तल झर्दै झरेन । 

चेतमानका अरू साथीहरू चङ्गा उडाइरहेका थिए । त्यसैले चेतमानलाई पनि चङ्गा उडाउन मन लाग्यो । बासँग चङ्गा किन्ने पैसा माग्दा पाएको थिएन उसले किनभने उसको बासँग पैसा थिएन । 

चेतमानलाई रुन मन लाग्यो । उसले रुँदै मनमनै भन्यो, “यो चङ्गा त झर्दै झरेन । अब यसलाई कसरी झिक्ने होला ?” चेतमानले एउटा उपाय सोच्यो ।

उनीहरूको टहरोसँगैको बारीमा लामो लामो नर्कटको घारी छ । उसले खुर्पाले एउटा लामो नर्कट काट्यो । त्यही नर्कटले रुखमा अड्किएको चङ्गा झिक्ने प्रयास ग¥यो । उसले चङ्गाको धागोलाई नर्कटमा अड्काएर तान्यो । तैपनि आएन चङ्गा । उसले अलि जोडले तान्यो । जोडले तान्दा चङ्गा त आयो तर च्यातियो । च्यातिएको चङ्गालाई उसले ओल्टाइपल्टाई हेर्‍यो । हेर्दाहेर्दै उसलाई रुन मन लाग्यो । ऊ रोयो । उसका साथीहरू चङ्गा उडाउँदैछन् । उसले मात्रै उडाउन पाएन ।

ऊ त्यही च्यातिएको चङ्गा लिएर घर गयो । बाटोमा चङ्गा उडाइरहेको रामलालले भन्यो, “ए चेते, चङ्गा लडाउने हो ?” चेतमानले टुलुटुलु हेर्‍यो रामलाललाई । कसरी लडाउने चङ्गा ? चेतमानसँग त च्यातिएको चङ्गा मात्रै छ । च्यातिएको चङ्गा उड्दैन । अर्को चङ्गा किन्नलाई उसँग पैसा छैन । बासँग पनि छैन । बालाई सन्चो नभएर भारी नबोकेको धेरै दिन भइसक्यो । चेतमानलाई फसाद पर्‍यो । “आहा ! क्या मज्जा । मैले दुइटा चङ्गालाई चेट पारेँ,” रामलाल एक्लै खुसीले चिच्यायो । 

चेतमानले नसुने जस्तो गर्‍यो । चेतमान च्यातिएको चङ्गा लिएर घर गयो । पोहोर साल किनेको लट्टाई झिक्यो । त्यसमा पोहोरकै धागो बाँकी थियो । चङ्गा भएको भए उडाउन पाउँथ्यो तर उसँग च्यातिएको चङ्गा मात्रै छ । च्यातिएको चङ्गा उड्दैन । 

चेतमान च्यातिएको चङ्गा हेरेर टोलाइरह्यो । 

“के भयो बाबु ?” आमाले प्रेमपूर्वक भन्नुभयो ।

चेतमान नबोली बस्यो । उसका आँखामा आँसु टिलपिलाउन थाले । “आमा, चङ्गा” चेतमानले रुन्चे स्वरमा भन्यो । “के गर्छस् बाबै ! तेरो बासँग पैसा छैन । काममा नगएको धेरै दिन भयो । खान लाउनै धौ धौ भइसक्यो,” आमाले चेतमानको टाउको मुसार्दै भन्नुभयो । चेतमान सुँक्क सुँक्क गर्न थाल्यो । 

“किन रुन्छस् छोरा ? पैसा भएको भए त किनिदिन्थेँ नि चङ्गा । तँ चङ्गा उडाएर रमाएको हेरेर हामी पनि रमाउँथ्यौँ नि,” बाले दुःखी भएर भन्नुभयो ।

चेतमानले आकाशतिर हेर्‍यो । आकाशमा रङ्गीबिरङ्गी चङ्गा उडिरहेका थिए– टाउके, सुर्के, धर्के, दुई धर्के, तीन धर्के, इँटा बुट्टे, पान बुट्टे आदि आदि । त्यो देखेर उसलाई झन् चङ्गा उडाउन मन लाग्यो । अब के गर्ने होला ? चेतमान उपाय सोच्न थाल्यो । 

‘आइडिया... !’ चेतमान एक्लै खुसीले करायो । 

“के भयो बाबु ?” आमाले उत्सुकतापूर्वक सोध्नुभयो । “म चङ्गा बनाउँछु” चेतमानले खुसी हुँदै भन्यो । उसको कुरा सुनेर आमा छक्क पर्नुभयो । अनि चेतमानले चङ्गा बनाएको हेर्न थाल्नुभयो ।

चेतमानले अरू च्यातिएका चङ्गाका टुक्रा कागज खोज्यो । च्यातिएको चङ्गाको डन्डी निकाल्यो । बासँग अलिकति लिसो माग्यो । लिसो दलेर त्यो कागजका रङ्गीबिरङ्गी टुक्रा जोड्यो । त्यसलाई एकछिन घाममा सुकायो । सुकेको रङ्गीबिरङ्गी कागजलाई चङ्गाको आकारमा मिलाएर काट्यो । मिलाएर काटिएको कागजमा लिसो दलेर सिधा डन्डी जोड्यो । त्यसपछि पखेटाको छेउ छेउमा लिसो दलेर फेरि अर्को डन्डी जोड्यो । त्यसलाई घाममा सुकायो । चेतमानको चङ्गा तयार भयो । जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै भयो । चङ्गा हेरेर चेतमान आफैँ दङ्ग पर्‍यो । चेतमान चङ्गा बोकेर रामलालछेउ गयो । रामलालसँगै कृष्णहरि, वासु, मीनराम, बालकृष्ण र अरू केटाहरू चङ्गा उडाउँदै थिए । रामलालले उत्साहित भएर भन्यो, “उडाइहाल न चेते । अहिले हावा मजाले चलेको छ ।”

चेतमानले चङ्गा उडाउन खोज्यो तर चङ्गा उडेन । उसले दुई/तीन चोटि प्रयास गर्‍यो तर चङ्गा उड्दै उडेन । फनफनी घुम्यो मात्रै । चेतमान खिस्रिक्क पर्‍यो । अरूका उडेका चङ्गा हेर्न थाल्यो ।

“ग्वाँख हाल् न ग्वाँख” वासुले उपाय सिकायो ।

चेतमानले मिलाएर ग्वाँख हाल्यो । तैपनि चङ्गा उड्न उड्न मात्रै खोज्यो तर उडेन ।  “पुच्छर हाल न । अनि उड्छ,” रामलालले अर्को उपाय सिकायो । चेतमानले कागजका टुक्राहरू जोडेर लामो पुच्छर बनायो । त्यसलाई चङ्गाको पुच्छरतिरको भागमा जोड्यो । “अब उडा त उड्छ,” फेरि रामलालले भन्यो । चेतमानले पुच्छर भएको चङ्गा उडायो । रामलालले भने जस्तै चेतमानको चङ्गा साँच्चिकै उड्यो । उसको चङ्गा उड्दै उड्दै आकासियो । चेतमान खुसीले बुरुक्क उफ्रियो । खुसीले उसको मन पनि आकासियो । आकाशमा रङ्गीबिरङ्गी चङ्गाहरू उडिरहेका थिए । त्योभन्दा पनि अझ बढी रङ्गीबिरङ्गी कागजका टुक्राले बनेको अर्को चङ्गा उड्यो । अझ त्यसमा पुच्छर पनि थियो । त्यो चेतमानको चङ्गा थियो । आकाशमा अरूभन्दा भिन्न र अनौठो चङ्गा उडेको देखेर सबैका आँखा त्यसैमा परे । चेतमान आफ्नो चङ्गा हेरेर दङ्ग पर्‍यो । चेतमानको जस्तो चङ्गा अरू कसैका थिएनन् ।

“ए चेते, पर्‍यो... पर्‍यो । धागो छोड” रामलाल करायो । चेतमानले धागो छोड्यो । 

“चे...ट” अरू धेरै केटाकेटी एकै स्वरमा कराए । चेतमानको चङ्गाले रामलालको चङ्गालाई चेट पारेछ । आकाशमा हेर्दाहेर्दै रामलालको चङ्गा हावामा पुल्टुङ खाँदै भुइँतिर खस्न थाल्यो ।

चेतमान खुसीले बुरुक्क उफ्रिँदै करायो, “चे...ट !” चेतमानको पुच्छरे चङ्गा पुच्छर हल्लाउँदै आकाशमा उडिरह्यो ।   

मुना

Author

रत्न प्रजापति