• ११ वैशाख २०८१, मङ्गलबार

पानीपोखरीअघिको सडकमा पानी जम्दा आवागमनमा कठिनाइ

blog

काठमाडौं, वैशाख २६ गते । मेलम्ची खानेपानी आयोजनाबाट ल्याइएको पानी जम्मा गरी ग्राहकका धारामा वितरण गर्न गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा बनाइएको पानीपोखरीअघिको सडकमा पानी जमेर आवतजावतमा समस्या भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको पानीपोखरीअघिको सडकको खाल्डो नपुर्दा केही दिनदेखि दैनिक भइरहेको वर्षाका कारण सडकमा पानी जमेर सवारी साधन र यात्रु आवतजावतमा समस्या भएको हो । बौद्ध र जोरपाटीबाट आरुबारी हुँदै गोकर्ण, सुन्दरीजल, कपनलगायत स्थान जाने यो सडकमा आवतजावत गर्न समस्या भएको यात्रु रमिता लामाले गुनासो गर्नुभयो ।

सडकमा बनेको गहिरो खाडलमा पानी जमेका कारण स्कुटर तार्न समस्या भएको उहाँले सुनाउनुभयो । सडकमा जमेको पानी जाने निकास पनि नभएकाले यात्रु र सवारी साधान समस्यामा पर्ने गरेका छन् । राष्ट्रिय गौरवको आयोजना भए पनि काम गर्दा ध्यान नदिँदा समस्या भएको स्थानीयवासीको गुनासो थियो । स्थानीयवासी पासाङ शेर्पाले वर्षाको पानी जमेको वा पानीपोखरीमै चुहावट भएको भन्न नसकिने बताउनुभयो ।

ठूलो पानीपोखरी भएको स्थानमा निर्देशनालयका कोही कर्मचारी नभेटिँदा के भएको हो भन्ने अन्योल र त्रासमा बस्नुपरेको उहाँको भनाइ थियो । निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले पानीपोखरीको चुहावट नभएको बताउनुभयो । पानीपोखरी निर्माण भएपछि त्यसअघिको सडक कालोपत्र गर्न बाँकी रहेकाले पानी जमेको हुनसक्ने उहाँको ठम्याइ थियो । पोखरीमा वैशाख पहिलो सातादेखि पानी आउन थालेको थियो । सुन्दरीजलमा प्रशोधन भएको मेलम्चीको पानी काठमाडौं उपत्यकाका १० वटा पानीपोखरीमार्फत् ग्राहकको धारामा वितरण गरिन्छ ।