• २ भदौ २०८१, आइतबार

परराष्ट्रमन्त्री डा. राणा दिल्लीमा

blog

दिल्लीमा स्वागतपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा । तस्बिर: नेपाली दूतावास भारतको ट्विटरबाट

काठमाडौँ, भदौ २ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ। 

भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा  जानुभएका डा. राणालाई आइतबार दिउँसो दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली दूतावास र भारतको विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभयो। 

भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ।

मन्त्री डा. राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीले बिदाइ गर्नुभएको थियो। 

मन्त्री डा. राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गानालगायत सहभागी हुनुहुन्छ।

परराष्ट्रमन्त्री राणा  भदौ ६ गते स्वदेश फर्कनुहुने छ।