• २ भदौ २०८१, आइतबार

सांस्कृतिक गाउँ मार्फा (फोटो फिचर)

blog

म्याग्दी (दरबाङ), भदौ २ गते । मार्फा परिचित गाउँको नाम हो । गाउँ तल हुँदै शान्त अनि आफ्नै गतिमा बग्ने कालीगण्डकी नदी । वरिपरि पहाडले घेरिएको सम्म परेको फाँटमा गुजुमुजु परेका घरहरू । मार्फालीको जीवनशैली,भाषा,धर्म,मौलिक संस्कार, कला संस्कृति ,गुम्बा ,गुफाहरू लगायत यहाँ रहेका ऐतिहासिक सम्पदा भिन्न र सौन्दर्यको अनुपम उपहार हो । 

फाँट भरी स्याउवारिले थप लोभ्याइदिन्छ । सेतो र रातो माटोले लिपेका घर । माटोकै छाना र छानामाथि  दाउराको थुप्रो गजबको देखिन्छ । हिमाल पारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२,स्थित मार्फा गाउँबारे जानकार नहुने सायदै होलान् । गीत तथा चलचित्र छायाङ्कन पनि प्रायजसो मार्फामा गर्ने गरेको पाइन्छ । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले पनि विभिन्न माध्यमबाट मार्फा गाउँ चिनाइरहेको देखिन्छ । 

अन्नपूर्ण र धौलागिरि पदमार्गका यात्री तथा मुस्ताङ घुम्न जानेहरू यो गाउँमा रमाउँछन् । मार्फाका हरेक घरमा एकै कलरका रङ प्रयोग गर्नुपर्ने र मौलिक परम्परागत शैलीमा घर बनाउनुपर्ने मापदण्ड बनाइएको छ । ऐतिहासिक पर्यटकीय गाउँ मार्फामा वडा र गाउँपालिकाले पूर्वाधार निर्माण गरिरहेको वडा अध्यक्ष मनबहादुर हिराचनले बताउनुभयो । उहाँका अनुसार ,गाउँभित्र गल्लीहरूमा सडक बत्ती जडान , पुरानै शैलीमा पदमार्ग निर्माण तथा मर्मत ,गाउँमाथि पार्क लगायत पूर्वाधार निर्माण भइरहेका छन् ।

पर्यटकलाई लक्षित गरेर एक होमस्टे सञ्चालन गरिएको छ भने २० बढी होटेलहरू सञ्चालनमा रहेका छन् । थकाली समुदायको बाहुल्यता रहेको मार्फामा केही गुरुङ र दलित समुदायको पनि बसोबास रहेको छ । ‘‘मार्फा पुरानो एक ऐतिहासिक सुन्दर पर्यटकीय गाउँ हो । स्याउको राजधानीको नामले परिचित हाम्रो गाउँमा गुम्बा र गुफाहरू’ स्थानीय लाल हिराचनले भन्नुभयो । 

पछिल्लो समय गाउँमा आन्तरिक तथा बाह्य देशका पर्यटकहरू आउन थालेपछि होटेल व्यवसायहरू पनि फस्टाउन थालेको उहाँले बताउनुभयो । ऐतिहासिक पर्यटकीय गाउँ मार्फा सुन्दर र आकर्षक मनै लोभ्याउने रहेको म्याग्दीको बेनीबाट घुम्न जानुभएका पर्यटक नवीन सोनामले बताउनुभयो ।


Author

साधन घर्ती