• १ भदौ २०८१, शनिबार

बाढी पीडितलाई राहत सामाग्री वितरण जारी : प्राधिकरण

blog

फाइल तस्बिर

काठमाडौँ, भदौ १ गते । सरकारले मनसुनका अवधिमा देशका विभिन्न स्थानमा आएको बाढी पहिरो पीडितलाई आवश्यकताका आधारमा राहत सामग्री वितरण गरेको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी मार्फत तारपोलिन, ब्ल्याङ्केट, म्याट्रेस, त्रिपाल, सरसफाइ किट, कपडा, स्लिपिङ ब्याग जस्ता गैरखाद्यन्न सामग्री वितरण गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।   

प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले मनसुनको दुई महिनामा अहिलेसम्म रेडक्रसमार्फत तारपोलिन २ हजार ५० थान , ब्ल्याङ्केट १ हजार ३० थान , म्याट्रेस ६१०, भाँडाकुँडा ५५५, झुल १५०, सरसफाइ किट २२५, कपडा ३ हजार २४५ मिटर, ब्याग ५० थान वितरण भएको जानकारी दिनुभयो । यस्तै गृह मन्त्रालयबाट त्रिपाल १ हजार २० थान, टेन्ट १२० थान, ब्यांकेट ३०० थान, म्याट्रेस १०० थान र स्लिपिङ ब्याग ५० र झुल २०० थान वितरण भएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार माग अनुसार राहत सामग्री वितरणको काम जारी छ । प्राधिकरणका अनुसार मनसुनपछिको अहिलेसम्म १३ जिल्लाका विपद् व्यवस्थापन कोषमा एक करोड ७६ लाख पठाइसकिएको छ । मनसुन प्रभावित परिवारका लागि तत्काल राहत स्वरूप १५ देखि २० हजार पनि सहयोग गरिएको प्राधिकरणले जानकारी दिएको छ । सङ्कटापन्न परिवारलाई मानवीय सहयोग जारी रहेको आइएफआरसीले जनाएको छ । 

प्रभावितहरूलाई स्थानीय तहलगायत सङ्घ संस्थाको पहलमा अस्थायी आश्रयस्थलमा राखी खाद्यान्न व्यवस्थापन गरिएको छ । अहिलेसम्म यो दुई महिनामा सबै प्रकृतिका विपदमा परेर २११ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । मनसुनी विपदमा मात्रै परेर १७६ जनाको मृत्यु भइसकेको छ । ३ हजार बढी परिवार प्रभावित भएका छन् । रासस