• १ भदौ २०८१, शनिबार

पदमा रहुन्जेल देखिने काम गर्छु : मुख्यमन्त्री लामा

blog

३० औं तामाङ प्रशारण दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बहादुरसिंह लामा ।

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू जति दिन पदमा भए पनि देखिने काम गर्ने बताउनुभएको छ । ३० औँ तामाङ प्रसारण दिवसको अवसरमा शनिबार यहाँ आयोजित मिडिया अवार्ड २०८१ वितरण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।

तामाङ पत्रकार सङ्घले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री लामाले राज्यको संरचनामा प्रतिनिधित्व हुनु ठुलो विषय भएको प्रतिनिधित्व भएमात्र काम गर्ने अवसर मिल्ने चर्चा गर्नुभयो । राज्यको सबै संरचनामा सबै समुदायको प्रतिनिधित्व नहुँदासम्म समुदायको उत्थान हुन नसक्ने उहाँको भनाइ छ । 

बागमती प्रदेशको मुख्यमन्त्री भएपछि आफूले बागमती प्रदेश सभामा तामाङ र नेवा समुदायबाट भाषिक उल्थाका लागि कर्मचारी व्यवस्थापनको काम सुरु गरेको बताउनुभयो । बागमती प्रदेशमा नेपाली, तामाङ र नेवा गरी तीन भाषा सरकारी कामकाजको भाषाको रूपमा रहेकाले अनुवादकको आवश्यकता परेको उहाँले प्रष्ट पार्नुभयो । 

तामाङ समुदायबाट आफू नै पहिलो मुख्यमन्त्री बन्ने अवसर पाएको चर्चा गर्दै उहाँले पदमा रहेसम्म इमानदारितापूर्वक सम्झनलायक काम गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसकालागि समुदायलाई पनि सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । 

नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले नेपाल टेलिभिजनबाट अहिले विभिन्न ६ वटा मातृभाषाका समाचारहरू प्रसारण भइरहेको जानकारी दिनुभयो । तामाङ पत्रकारलाई गोलबद्ध गरी वृत्ति विकासमा समेत सङ्घको योगदान महत्त्वपूर्ण रहेको उहाँले चर्चा गर्नुभयो । 

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले मातृभाषी पत्रकारिता आदिवासी पत्रकारको जग भएको चर्चा गर्दै पत्रकारिता पेसामा टिकाइराख्न समुदाय र राज्य दुवैको सहयोगको खाँचो रहेको बताउनुभयो । फोनिजले आदिवासी पत्रकारको वृत्तिविकाससँगै एकीकृत गर्ने काम पनि गरिरहेको उहाँले जानकारी गराउनुभयो । 


सङ्घका अध्यक्ष सुवास योन्जनको सभापतित्वमा भएको कार्यक्रममा दुई जना पत्रकारलाई सम्मानित गरिएको छ । सो अवसरमा नयाँ पत्रिकाका पत्रकार राजु स्याङ्तान र नेपाल टेलिभिजनकी कार्यक्रम प्रस्तोता शान्ति लामा बाइवालाई नगद ५ हजार सहित सम्मानपत्रले सम्मानित गरिएको छ । 

कार्यक्रममा भाषाविद् अमृत योन्जन, रवीन्द्रसिंह तामाङ, रोशी गाउँपालिका काभ्रेका अध्यक्ष दिनेश लामा, पत्रकार सञ्चु ब्लोन, लालकुमार मोक्तान, टासी लामा, लक्ष्मी तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।