• १० मंसिर २०८१, सोमबार

अभागी माया [कथा]

blog

रमेश स्नातक तह चौथो वर्षमा पढ्दै थियो । एक महिनापछि उसको सेमेस्टरको अन्तिम परीक्षा थियो तर ऊ पढाइमा ध्यान केन्द्रित गर्न सकिरहेको थिएन किनकि एक वर्षदेखि उसले गरेको प्रेम उसैलाई बोझ भइरहेको थियो । झन्डै १५ दिनदेखि ऊ बेचैन थियो । कलेज पनि फाट्टफुट्ट जान्थ्यो । सधैँ हाँस्ने, सधैँ हँसाउने ऊ विस्तारै उदास भइरहन्थ्यो । प्रायः झोक्रिरहेको हुन्थ्यो । परीक्षा आउन एक महिना मात्रै बाँकी थियो तर उसले यो सेमेस्टरमा खासै केही पढेको थिएन । राति १० बजेसम्म अनि बिहान ६ बजे उठेर पढ्ने बानी थियो तर उकेही दिनदेखि राति जागै बस्ने अनि दिउँसो सकीनसकी सुत्ने बानी परेको थियो उसलाई । सधैँ झैँ आज राति पनि ऊ दिमागमा धेरै कुरा खेलेर सुत्न सकिरहेको छैन । आज ऊ एउटा निर्णयमा पुग्न चाहन्थ्यो । जिन्दगीको यो मोडमा आइपुग्छु भनेर उनले कहिल्यै सोचेको थिएन । न उसले आफूले बर्सौंदेखि माया गरेको युवतीलाई छोड्न सकिरहेको थियो न त बोझिलो बन्दै गएको मायालाई निरन्तरता दिन सक्थ्यो । उसले सम्बन्ध सुरु हुँदादेखि आजसम्मका महत्वपूर्ण घटनाक्रम सम्झिन थाल्यो । 

उनीहरूको भेट एउटा क्याफेमा भएको थियो । कहिलेकाहीँ कलेजबाट फर्कंदा उसलाई मन पर्ने त्यो क्याफेमा गएर चिया खाजा खान्थ्यो । एक दिन क्याफेमा खाजा खाने क्रममा कलेज पढ्ने, ठिकठाक उचाइ भएकी, हँसिलो मुहार, राम्रो पोसाकमा सजिएकी प्रतीक्षा नाम गरेकी युवती ऊ बसेको टेबलको विपरीतमा आएर बसी । सुरुमा उसले त्यति वास्ता गरेन तर युवतीको सुन्दरता वा लजालुपनले होला, उसलाई मन परेर बोल्ने मन लाग्यो । प्रतीक्षाले पनि चिनजान गर्ने उत्सुकता देखाई । आआफ्ना पढाइ, भविष्यको योजना, दैनिकी र घरपरिवारको कुरा दुवै जनाले एकअर्कासँग साटे । छुट्टिने बेला फेसबुकमा साथी भए र मोबाइल नम्बर पनि साटे । 

अब उनीहरू एकअर्कासँग जोडिन पुगेका थिए । उनीहरू म्यासेन्जरमा च्याट गर्थे, फोनमा कुराकानी भइरहन्थ्यो । बिस्तारै साथीबाट सुरु भएको सम्बन्ध प्रेममा परिणत हुन समय लागेन । भिडियो कलमा उनीहरू घण्टौँ गफ गर्थे । सामान्य कुराकानीसँगै अश्लील कुरा गर्न पनि उनीहरूलाई सहज हुन थालेको थियो । रमेशले प्रतीक्षालाई भेटौँ भन्यो । प्रतीक्षाले पनि समय निकाली । आज उनीहरू साथीभन्दा पनि विशेष किसिमले भेट्न जाँदै थिए । त्यही क्याफेको एउटा क्याबिनमा उनीहरू भेट्ने भए, सायद क्याबिनमा एकान्त खोजेका हुन् । उनीहरूले खाजा अर्डर गरे । उनीहरूबिचको भौतिक दुरी धेरै कम भइसकेको थियो । त्यो दिन उनीहरूले हामी एकअर्काका हौँ भन्ने किसिमको प्रेम जनाए र मिठो सम्झना बटुल्दै छुट्टिए ।

उनीहरूबिच एकअर्काको गोपनीयता बिस्तारै कम हुँदै थियो र बानी पर्न थालेको थियो । एकछिन नबोली बस्न नसक्ने, जतिखेर नि भेटौँ हुने, चिन्ता र डर लाग्ने र जतिखेर नि एकअर्कालाई सम्झिराख्ने बानी परेको थियो । समय मिलाएर भेटिरहन्थे उनीहरू । माया झन् झन् प्रगाढ हुँदै थियो । रमेशले प्रतीक्षालाई कतै टाढा यो सहरको कोलाहलबाट पर घुम्न जाने प्रस्ताव राख्यो । उसले पनि इन्कार गरिन । रमेशले साथीसँग बाइक माग्यो । साँझको ४/५ बजे उसले प्रतीक्षालाई गल्र्स होस्टेलबाट ‘पिकअप’ ग¥यो । उनीहरू सहर छिचोल्दै एकान्त कच्ची सडक हुँदै हुइँकिरहेका थिए । बाइकमा प्रतीक्षा पूरै टाँसिएर बसेकी थिई । हावाको वेगले उनीहरूको गफ अलि अलि मात्र बुझिने भएको थियो । साँझ ८ बज्न थालेको थियो । रमेशले बाइक एउटा होटेलअगाडि पु¥याएर रोक्यो । रमेशले एउटा रुम ‘बुक’ गर्न खोज्दै थियो । प्रतीक्षाले प्रतिवाद गरी । उसले पनि जबरजस्ती गरेन । प्रतीक्षाले रमेशको इच्छा बुझिसकेकी थिई । रमेशले शारीरिक सम्बन्ध राख्न प्रस्ताव राख्यो । उसले यो मायालाई थप उचाइमा पु¥याऊँ भन्यो तर प्रतीक्षाले मान्दै मानिन । रमेश रिसायो पनि तर रिस पोखेन बरु मन खिन्न बनाउँदै बाटोमा चुपचाप रहँदै प्रतीक्षालाई होस्टेलसम्म छोडिदियो । केही दिन रमेश बोलेन तर फेरि उनीहरू पहिला जसरी बोल्न थाले ।

उनीहरूबिच नियमित भेटघाट र गफगाफ भइरह्यो तर रमेशले चाहेको जस्तो उनीहरूको सम्बन्ध एक तहमाथि उक्लिन भने सकेको थिएन । यसले ऊ कहिलेकाहीँ निराश हुन्थ्यो । उसले चित्त बुझाउन थाल्यो र बारम्बार त्यही प्रस्ताव राख्न छोड्यो । उता प्रतीक्षाको स्वभावमा चाहिँ परिवर्तन देखिन थाल्यो । उनीहरूको हिमचिम घट्न थालेको थियो । उसले रमेशको फोन नउठाउने, भेटघाट गर्न नचाहने र कुरा गर्न खोज्दा व्यस्त छु भन्न थाली । पछि पछि त रमेशलाई सामाजिक सञ्जालमा ‘ब्लक/अनब्लक’ गर्न सुरु गरिन् । रमेश कुरा मिलाउन चाहन्थ्यो तर प्रतीक्षाले वास्तै गरिन । रमेशले सम्बन्ध सुधार्न हरसम्भव प्रयास ग¥यो तर उसको मेहनत ‘बालुवामा पानी खन्याए’ सरह भयो ।

पाँच मिनेट पनि नबोली नभेटी नहुने उनीहरूको सम्बन्ध अब महिनौँ दिनसम्म पनि नबोल्ने, नभेट्ने भयो । कहिलेकाहीँ सडकमा हिँड्दा, बाटो काट्दा चाहिँ उनीहरूका आँखा जुध्थे । पछि रमेशले आफ्नो साथीको मुखबाट प्रतीक्षा त अर्कै केटासँग हिँडेको र उनीहरूको सम्बन्ध अर्कै खालको छ भनेर सुन्यो । पहिला त उसले पत्याएन तर आफ्नै आँखाले देखेपछि चाहिँ ढुक्क भयो । भनिन्छ, केटा मान्छेले केटी मान्छेको अरू सबै गल्ती माफ गरिदिन सक्छ तर अरू केटासँग लागेको चाहिँ सहन सक्दैन । रमेश रिसाउन थाल्यो, छट्पटिन थाल्यो तर उसले परिस्थितिलाई बुझ्ने कोसिस ग¥यो र गलत कदम उठाएन ।

सोच्दासोच्दै रातिको १२ बजिसकेको थियो । रमेशले निर्णयमा पुग्न सक्ने गरी सोच्न बाँकी नै थियो । ऊ छिनछिनमा उठ्थ्यो, निभाएको बत्ती बाल्थ्यो, बोतलमा राखेको पानी पिउँथ्यो । उसले फेरि बत्ती निभायो, ओछ्यानमा पल्टियो र सोच्न थाल्यो । उसले आफैँसँग सोध्यो, “मेरो लागि मरिहत्ते गर्ने युवती किन अहिले मलाई वास्तै गर्दिन ? मबाट केही गल्ती भयो कि ? माया गरेको भए कसरी यसरी टाढिन सक्छ ? कुनै कुरामा चित्त नबुझेको भए मलाई भनेको भए हुन्थ्यो ।” उसले चित्तबुझ्दो जवाफ पाउन सकिरहेको थिएन । 

“म व्यस्त हुँदा उसले भेट्न चाहेको बेला भेटिनँ होला । अलि हक्की स्वभावको छु । रिसाएर, झर्केर बोले हुँला तर माया र सम्मान गर्थें त ! उसलाई अरू कोही मन प¥यो होला । ठिक छ, आज मन परेको मान्छे भोलि मन नपर्न सक्छ तर ‘ब्लक’ नै गर्नु पर्थेन होला नि ! म उनीहरूको सम्बन्धमा भाँजो हाल्न जाने पनि होइन । मसँग छुट्टिनु नै थियो भने राम्रोसँग भनेको भए हुन्थ्यो नि !” ऊ यस्तै सोच्दै थियो । उसले प्रतीक्षासँग बिताएका खुसीका क्षणहरू सम्झियो अनि महिनौँदेखि प्रतीक्षाले गरेको बेवास्ताले दुःखी भयो साथै आक्रोशित पनि । ऊ रिसायो, आफैँसँग कठोर भएर सोच्न थाल्यो, “के माया मैले मात्र गरेको थिएँ ? के मलाई मात्र ऊ चाहिएको हो ? के सम्बन्ध जोगाउने जिम्मेवारी मेरो मात्रै हो ? जब ऊ मबिना हाँसीखुसी रहन सक्छे भने म किन नसक्ने ? जब मलाई गुमाउँदा उसलाई अलिकति पनि डर छैन भने मलाई किन डर ? ऊ नहुँदा पनि बाँचिएकै थियो, हुँदा पनि बाँचियो र अब नहुँदा पनि बाँचिहालिन्छ ।”

ऊ आफूले सक्ने सबै गरेको तर प्रतीक्षाले नै बेवास्ता गरेकोमा विश्वस्त भयो । अनि प्रतीक्षासँग कस्तो सम्बन्ध राख्ने भनेर एउटा कठोर निर्णय लियो– जबसम्म ऊ मसँग बोल्न आउँदिन तबसम्म म पनि मतलब राख्दिनँ । आए पनि म पहिला जस्तो सम्बन्ध राख्दिनँ । जब मनै गिजोलियो त अब के ? साथी चाहिँ रहने छु । प्रतीक्षाले चाही भने जहिले पनि सहयोग गर्न तयार छु तर अब साथीभन्दा अगाडि बढ्दिनँ । ऊ उठ्यो, बत्ती बाल्यो र बोतलमा राखेको पानी पियो । उरले मुस्कुराउँदै जगजित सिंहको गीत बजायो, ‘मै अकेला था मगर इतना नही था, तेरे बारेमे जब सोचा ना था ।’ 

उसले अठोट ग¥यो, “अब म पनि बाँच्नु पर्छ । कहानी भइसकेको दुःखसुख सोचेर हुन्न । अब उसको बारेमा सोच्दै सोच्दिनँ ।” त्यसपछि भोलिदेखि पढ्नु पर्छ भनेर सुत्यो ऊ ।

Author

शिवेशकुमार सिंह