• १६ भदौ २०८१, आइतबार

लामो झोलुङ्गे पुल

blog

भाइबहिनीहरू, झोलुङ्गे पुल देख्नुभएको छ ? नदी वा खोला तर्नका लागि लच्किने वा हल्लिने खालका फलामे वस्तु प्रयोग गरेर पुल बनाइएका हुन्छन् । फलामका ठुला खम्बामा पुल अड्याइएको हुन्छ । बच्चालाई सुताउन घरमा तन्ना वा पछ्यौराको झोलुङ्गो बनाउने गरिन्छ । ठ्याक्कै झोलुङ्गो जस्तै हुने भएकाले यस्ता पुललाई झोलुङ्गे पुल भनिएको हो ।

अब भन्नुहोस् त नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल कुन होला ? पक्कै पनि हामी सबैले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित महाकाली नदीमा बनेको झोलुङ्गे पुल सबैभन्दा लामो हो भनी पढ्दै र सुन्दै आएका थियौँ है ? थाहा पाइराख्नुस्, अब महाकाली नदीको भन्दा पनि लामो झोलुङ्गे पुल बनेको छ । मधेश प्रदेशको कमला नदीमा नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल बनाइएको छ । 

कमला नदीको झोलुङ्गे पुलले तराईका दुई जिल्ला धनुषा र सिराहालाई जोड्छ । पुलको एउटा छेउ धनुषाको जनकनन्दिनी गाउँपालिका–६, कठाल र अर्को छेउ सिराहाको सिराहा नगरपालिका–१३, मलहनियाँ पर्छ । यो पुलको लम्बाइ एक हजार ५००.४ मिटर छ । यसको चौडाइ १.२ मिटर छ । यो पुलको भार क्षमता ५४० मेट्रिक टन रहेको छ । अर्थात् यो पुलमा एकै पटक तीन हजार ८६ जना मानिसले ओहोरदोहोर गर्न मिल्छ ।

यो झोलुङ्गे पुललाई ललितपुरको हरिहरभवनमा रहेको सस्पेन्सन ब्रिज डिभिजनले बनाएको हो । पुल बनाउँदा २१ करोड ५० लाख १० हजार सात सय रुपियाँ खर्च भएको छ । पुलको एक छेउबाट अर्को छेउमा पुग्न २० देखि २५ मिनेट लाग्छ । पुलका कारण सिराहा र मधेश प्रदेशको राजधानी जनकपुरधाम बिचको दुरी छोटिएको छ । यसअघि सिराहाबाट जनकपुर पुग्न पूर्वपश्चिम राजमार्ग हुँदै झन्डै ९० किलोमिटर दुरी पार गर्नुपथ्र्याे । सिराहाबाट भारतको जयनगर हुँदै जनकपुरधाम पनि जान सकिन्थ्यो । भारतको बाटो भएर जाँदा पनि लामो यात्रा गर्नुपथ्र्यो । अब सिराहाबाट जनकपुर पुग्न करिब ३५ किलोमिटर यात्रा गरे पुग्छ । सिराहा बजारबाट चार किलोमिटरमा कमला नदीको झोलुङ्गे पुल आउँछ । त्यो पार गरेपछि ३० किलोमिटर यात्रा गरेपछि जनकपुर पुगिन्छ । 

स्थानीय बासिन्दा मुकेश शर्माले झोलुङ्गे पुल सञ्चालनमा आएपछि सिराहा–जनकपुर ओहोरदोहोर गर्न सजिलो भएको बताउनुभयो । हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा बनाइएको पक्की पुल उद्घाटनअघि नै भत्किएको थियो । पक्की पुलको विकल्पमा झोलुङ्गे पुल तयार गरिएको हो ।

पहिले त्यहाँ पुल नहुँदा आवतजावतमा कठिनाइ थियो भने त्यस क्षेत्रमा तरकारी, खाद्यान्नलगायतका कृषि उत्पादनले बजार पाउन सकेको थिएन । पुलका कारण शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा पनि सहयोग पुगेको छ । 

सिराहा नगरपालिका–१९ का ९२ वर्षीय मुङ्गालाल यादवले बाल्यकालमै कमला नदीमा पुल बन्ने कुरा सुन्नुभएको थियो तर उहाँले पुल बन्ने कुरा सुन्नुभएको ८० वर्षपछि पुलबाट वारपार गर्न पाएकोमा खुसी लागेको बताउनुभयो ।

पुल बनेपछि वरपर पसलहरू खुल्न थालेका छन् । पुल हेर्न आउने, पिकनिक खान आउनेहरू दैनिक सयौँ हुन्छन् । भारतीय पर्यटक पनि आउन थालेका छन् । स्थानीय विनोदकुमार मण्डलले पहाडी क्षेत्रमा झोलुङ्गे पुल नयाँ कुरा नभए पनि तराईका लागि नयाँ भएकाले पनि पुल हेर्न आउनेहरू बढी भएको बताउनुभयो । जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष विपिनदेव यादवले पिकनिक स्पट, हरियाली प्रवर्धनलगायतका योजना तयार गरिएको सुनाउनुभयो । 

साउन मुना २०८१  

Author

विजयकुमार साह