काठमाडौँ, साउन २६ गते। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि आफू तयार रहेको बताउनुभएको छ।
एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ, नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।
मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएको उल्लेख गर्दै अब भने त्यस्तो गल्ती नगर्ने बताउनुभयो।
उहाँले पर्यटकलाई आकर्षित गर्ने गन्तव्य स्थलको निर्माण गरेर उनीहरुलाई आकर्षित गर्न सकिने भएकाले त्यसमा प्रदेश सरकारले विशेष ध्यान दिने बताउनुभयो।मुख्यमन्त्री लामाले विभिन्न खालको पर्यटकहरु नेपाल आउने भएकाले उनीहरुको चाहना अनुसारको गन्तव्य स्थलहरुको निर्माणमा पनि प्रदेश सरकारले काम गर्ने बताउनु भयो। उहाँले व्यवसायीको समस्या समाधान गरेर अघि बढ्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो।
मुख्यमन्त्री लामाले भन्नुभयो, ‘‘पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न बागमती प्रदेश सरकार तयार छ।बागमती प्रदेशले पर्यटन प्रवर्द्धनका लागि यस अघि जुन लगानी गरेको छ।त्यो लगानी फजुलमा गरेको हामीले देख्यौँ।मन्दिर, गुम्बा छरिएर बनाएको छ।सबै ठाउँमा छरेर बनाएर टुरिजम आउँदैन।अर्को डाँडामा टावर बनाएको छ।टावर कहाँ बनाउने, मन्दिर कहाँ कहाँ बनाउने भन्नेकुरा फरक छ।हाम्रो समाजलाई पनि शुद्धिकरण गरेर टुरिष्टलाई आकर्षित गर्ने कम्तिमा पनि २/३ दिन घुम्ने ठाउँ चाहिएयो ।’’
मुख्यमन्त्री लामाले पर्यटकलाई आकर्षित गर्नका लागि समाजलाई समेत सचेत गराउन आवश्यक रहेको बताउनुभयो।