• ११ मंसिर २०८१, मङ्गलबार

३९ जनाद्वारा नेपाली नागरिकता परित्याग

blog

जिल्ला प्रशासन कार्यालय । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, साउन २६ गते ।
 स्याङ्जामा आर्थिक वर्ष २०८०/०८१ मा ३९ जना नेपाली नागरिकले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमा ३२ पुरुष र सात महिला रहेका छन् ।

नेपाली नागरिकता परित्याग गरेर सबैभन्दा धेरै १० जना अमेरिकी नागरिकता र १० जना अस्ट्रेलियन नागरिकता प्राप्त गरेका छन् ।

हङकङमा छ, बेलायतमा चार, जर्मनमा तीन, न्यूजील्यठ र पोर्चुगलमा दुई/दुई जना रहेका छन् भने पोर्चुगल र फिन्ल्याड एक–एक जना रहेका छन् ।

वि.सं २०६७/२/३ देखि असार मसान्तसम्म ५१ जना पुरुष र २६ जना महिला गरी ७७ जनाले नेपाली नागरिकता परित्याग गरेका हुन् ।

डिभी, पीआर लिएका र विदेशी नागरिकसँग विवाह गरेकाले नागरिकता त्याग गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो ।

उहाँले विदेशी नागरिकता लिने प्रक्रिया थालेसँगै नेपाली नागरिकता परित्याग गर्नुपर्ने बताउनुभयो । 

राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगार, शिक्षा र स्वास्थ्यलाई मुख्य कारण देखाउँदै विदेशी मुलुक छिरेका नेपाली नागरिक पछि उतै रमाउने र अन्ततः उतैका नागरिक भई बस्न चाहना गर्ने गरेको देखिएको छ ।

२५ जनालाई अङ्गिकृत नेपाली नागरिकता
आर्थिक वर्ष ०८०/०८१ मा स्याङ्जामा २५ जनाले बैवाहिक अङ्गिकृत नेपाली नागरिकता लिएका छन् ।

अङ्गिकृत नेपाली नागरिकता लिनेमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट १५ र इलाका प्रशासन वालिङबाट आठ जना रहेका छन् ।

यसरी अङ्गिकृत नागरिकता लिनेमा भारतका २१ र फिलिपीन्सका दुई जना रहेको सहायक प्रजिअ दिपक पौडेलले बताउनुभयो ।
नेपाली युवासँग बिवाह गर्ने विदेशी युवतीले वैवाहिक अङ्गिकृत नागरिकता लिएका हुन् ।

४२ जनाले लिए गैरआवसिय नेपाली नागरिकता
०८०/०८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट ४२ जनाले गैरआवसिय नेपाली नागरिकता लिएका छन् ।

नेपालबाट विभिन्न कारण विदेश गएका र लामो समय बसेर विदेशको नागरिकता पाएका र नेपालको परित्याग गरेकालाई यो नागरिकता प्रदान गरिएको हो ।

गैरआवसिय नेपाली नागरिकता लिनेलाई नेपालको राजनैतिक अधिकार र सरकारी जागिरको अवसर बाहेक सबै सेवाहरु व्यापार व्यावसाय घरजग्गा खरिदलगायतका कारोबार गर्न पाउने सप्रजिअ पौडेलले बताउनुभयो ।

नागरिकता भन्दा राहदानी लिने धेरै
आर्थिक वर्ष ०८०/०८१ स्याङ्जामा नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या धेरै रहेको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन वालिङबाट १४ हजार १३१ जनाले वंशज, २५ जनाले बैवाहिक अङ्गिकृत र ४२ जनाले गैरआवासिय गरी १४ हजार २०६ नागरिकता लिएका छन् । 

यस्तै, जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात हजार ३६८ जना र इलाका प्रशासन वालिङबाट सात हजार ८२५ जना गरी १५ हजार १९५ जनाले राहदानी लिएका छन् ।