• २ माघ २०८१, बुधबार

जनकपुरधाममा झुलन महामहोत्सवको रौनक

blog

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा झुलन महामहोत्सवको रौनक । तस्बिर : न्युज एजेन्सी नेपाल

जनकपुरधाम, साउन २६ गते । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा झुलन महामहोत्सवको रौनक सुरु भएको छ । चर्चित संस्कृति र पर्वमध्येमा पर्ने झुलन उत्सवमा जनकपुरका मठ मन्दिरहरू सङ्गीतमय बनेका छन् ।

झुलन उत्सवमा सहभागी हुन नेपाल र सीमावर्ती भारतबाट हजारौँको सङ्ख्यामा श्रद्धालुहरू जनकपुर आएका छन् । मिथिला क्षेत्रमा रहेका मठमन्दिर र कुटीहरूमा आयोजना भइरहेको झुला उत्सवमा गाइने धार्मिक गीत सङ्गीतले सबैलाई मन्त्रमुग्ध बनाइरहेको हुन्छ ।

 

जनकपुर र आसपासका प्रत्येक मठमन्दिरमा झुलाका लागि सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसीताको मूर्ति राखी झुलाउने परम्परा रहेको छ । मिथिलाको सांस्कृतिक पर्वका रूपमा चिनिने झुला उत्सव साउन तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । झुला उत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको पौराणिक मान्यता रहेको छ ।