• २२ साउन २०८१, मङ्गलबार

सञ्चारमन्त्रीसमक्ष राससको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष राष्ट्रिय समाचार समिति (रासस)को आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा।

काठमाडौँ, साउन २२ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष राष्ट्रिय समाचार समिति (रासस)को कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। 

मन्त्री गुरुङलाई आज मन्त्रालयमा भेट गरी अध्यक्ष झाले राससले आव २०८०/८१ मा सम्पादन गरेका क्रियाकलाप समेटिएको सो प्रतिवेदन प्रस्तुत गर्नुभएको हो। सो अवसरमा मन्त्री गुरुङले तथ्यसत्य र विश्वासनीय समाचार सम्प्रेषण गर्दै आएको राससले सम्पादन गरेका कार्यबाट आफू प्रभावित भएको र आगामी दिनमा पनि अझ रचनात्मक कार्य गर्न निर्देशन दिनुभयो। 

रासस मिडियाहरुको पनि मिडिया भएको उल्लेख गर्दै उहाँले सरकार र जनताबीचको पुलका रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो। 

कार्यकारी अध्यक्ष झाले मन्त्रालयको सहयोग र समन्वयमा राससले सूचना सम्प्रेषण र भौतिक पूर्वाधार विकासमा थुपै्र कार्य गर्न सकेको बताउँदै चालु आवमा २४ घण्टे समाचार सेवा र  कम्तीमा दुई मातृभाषामा समाचार बुलेटिन एवं मिडिया सङ्ग्रहालय स्थापना गर्न लागेको जानकारी दिनुभयो। 

त्यस अवसरमा राससका महाप्रबन्धक सिद्धराज राई, सञ्चालक समिति सदस्य कृष्ण अधिकारी र प्रशासन प्रमुख शीतलप्रसाद महतो पनि सहभागी हुनुहुन्थ्यो। 

आजै कार्यकारी अध्यक्ष नेतृत्वको राससको टोलीले मन्त्रालयका सचिव राधिका अर्यालसँग पनि भेटगरी उहाँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवको जिम्मेवारी लिनुभएकामा हार्दिक बधाई ज्ञापन गर्दै राससबारेमा अवगत गराइएको थियो।