• २२ साउन २०८१, मङ्गलबार

आकस्मिक कक्षमा आएका बिरामीलाई तत्काल उपचार दिन निर्देशन

blog

काठमाडौँ, साउन २२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आकस्मिक कक्षमा आएका बिरामीलाई तत्काल उपचार दिन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकाल्दै स्वास्थ्य संस्थालाई यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले आकस्मिक कक्षमा आएका बिरामीलाई उपचार दिएर स्थिर गराई थप आवश्यक पर्ने सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नहुने भएमा मात्र त्यस्ता सेवा उपलब्ध हुने अन्य अस्पतालमा सो अस्पतालको समन्वयमा प्रेषण गर्न गराउन हुन सबै स्वास्थ्य संस्थालाई आग्रह गर्नुभएको छ ।

नेपालको संविधान २०७२ का मौलिक हकहरू मध्ये धारा ३५(१) मा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख छ ।

जनस्वास्थ्य सेवा ऐन २०७५ ले आकस्मिक स्वास्थ्य सेवालाई आकस्मिक घटना वा आपत्कालीन अवस्था परी जीवनलाई जोखिममुक्त गर्न, जीवन वा अङ्ग गुम्नबाट बचाउन आवश्यकता अनुसार दिनुपर्ने प्रारम्भिक तथा तत्काल सेवा सम्झनु पर्छ भनी परिभाषित गरेको छ ।