• २२ साउन २०८१, मङ्गलबार

७२ जना किसान सम्मानित

blog

किसानलाई सम्मानपत्रले सम्मान गर्दै प्रमुख तीर्थराज भट्टराई ।

राजकुमार भट्टराई

खोटाङ, साउन २२ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ७२ जना किसान सम्मानित भएका छन् । नगरपालिकाले उहाँहरूलाई सम्मानपत्रले मङ्गलबार सम्मान गरेको हो । 

आर्थिक वर्ष २०८०-०८१ मा नगरपालिकाको उत्पादनमा आधारित अनुदान पाउने किसानहरूलाई नगरपालिकाले सम्मान गरेको जनाएको छ । उत्पादनमा आधारित अनुदानका लागि नगरपालिकाले किसानलाई सूचीकृत गराएको थियो । जसमा १ सय ५० जना किसान सूचीकृत भएका थिए । उनीहरूमध्ये ७२ जना किसानले उत्पादनमा आधारित नगद अनुदान पाएको प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

“सुरुमै अनुदान दिएपछि वास्तविक किसानले अनुदान पाउने सम्भावना कम हुने रहेछ । अनुदान लाने तर भने अनुसार काम नगर्ने हुँदा कृषिमा गरिएको लगानी उपलब्धिमूलक देखिएन,” प्रमुख भट्टराईले भन्नुभयो, “त्यसैले गत आर्थिक वर्षमा हामीले किसानले जति उत्पादन गर्छन्, त्यही अनुसार अनुदान रकम दिने योजना ल्याएका हौँ । सोही अनुसार कृषि उपज उत्पादन गर्ने वास्तविक किसानले अनुदान पाउनुभएको छ ।” 

नगरपालिकाले-७ वटा बालीमा अनुदानका लागि किसानलाई सूचीकृत हुन आग्रह गरेको थियो । सूचीकृत भएर ५ वटा बालीमा किसानले अनुदान पाएका छन् । नगरपालिकाले तोकेको मापदण्ड अनुसार तोरी उत्पादन गर्ने १० किसानले उत्पादनमा आधारित अनुदान पाएको नगरपालिकाका कृषि शाखा प्रमुख तेज प्रकाश जैशीले बताउनुभयो । उनीहरूले १ लाख ४४ हजार ८ सय ५५ रुपियाँ अनुदान रकम पाएका हुन् । यस्तै, मोरीको मह उत्पादन गर्ने ७ जना किसानले १ लाख ६३ हजार ५ सय अनुदान रकम पाएको जैशीले बताउनुभयो ।

यस्तै, फापर उत्पादनमा एक जना कृषकले मात्र मापदण्ड अनुसार उत्पादन गरेर अनुदान पाउनुभएको छ । प्याज उत्पादनमा २३ जना कृषकले १ लाख ३३ हजार १ सय र कोदो उत्पादनमा ३१ जनाले १ लाख ८१ हजार ७ सय रकम अनुदान पाएको कृषि शाखा प्रमुख जैशीले बताउनुभयो । उत्पादनमा आधारित अनुदान रकम पाउने उक्त किसानहरूलाई नगरपालिकाले मङ्गलवार सम्मान गरेको हो ।