काठमाडौँ, साउन २२ गते । गृहमन्त्री रमेश लेखकले सरकारले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सबै उपाय अवलम्बन गर्ने बताउनुभएको छ ।
मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा सिमलताल दुर्घटना अध्ययन गर्न गठित समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सरकारले सबै उपाय अवलम्बन गर्ने बताउनुभएको हो ।
उहाँले सडक दुर्घटनाहरू निरन्तर भइरहेका भन्दै यस्ता दुर्घटनाहरू न्यूनीकरण गर्न आवश्यक भएको बताउनुभयो । उहाँले दुर्घटना हुन नदिने कुराको सुनिश्चितता गर्नु आवश्यक भएको भन्दै यसको निम्ति सरकारले सबै उपायहरू अवलम्बन गर्ने स्पष्ट पार्नुभयो ।
गृहमन्त्रीले सिमलताल दुर्घटना सम्बन्धी प्रतिवेदन अध्ययन गरेर प्रतिवेदनमा उल्लेख भएका सबै सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि मन्त्रालय सँगसँगै अन्य निकायहरूको भूमिका हुने भन्दै सुझावलाई कार्यान्वयन गर्नका लागि मातहतका निकाय र सरोकारवाला निकायहरूलाई पत्राचार गर्ने जानकारी दिनुभयो ।
चितवन जिल्ला भरतपुर महानगरपालिका-२९ को सिमलटार भन्ने ठाउँमा गत असार २८ गते पहिरोमा परी दुई यात्रुवाहक बस बेपत्ता भएको थियो । काठमाडौँबाट गौरको लागि छुटेको गणपति डिलक्समा ३६ जना यात्रु रहेकोमा तीन जना यात्रु मात्रै जीवित रहेका थिए ।
त्यस्तै, वीरगञ्जबाट काठमाडौँका लागि आउँदै गरेको एञ्जल डिलक्स बसमा ३६ जना यात्री रहेकोमा कोही पनि जीवित फेला परेका छैनन् । हालसम्म २४ वटा शव फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको अवस्था छ ।