• १० मंसिर २०८१, सोमबार

अर्थतन्त्रमा पर्यटन क्षेत्र

blog

केही वर्षयता विश्वका साना देशमा पर्यटन क्षेत्रको विकास तीव्र गतिले भइरहेको छ । फलतः यी देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान पनि बढिरहेको छ । उदाहरणका लागि सन् २०१९ मा मकाउको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ५२.२ प्रतिशत थियो भने दक्षिण एसियाली देश माल्दिभ्सको कुल गार्हस्थ उत्पादनमा यो क्षेत्रको योगदान २६.४ प्रतिशत थियो । यसै गरी सेसेल्सको कुल गार्हस्थ उत्पादनमा यो क्षेत्रको योगदान २६.४ प्रतिशत थियो, जसलाई न्यून मान्न सकिँदैन । 

सन् २०१९ मा विश्वका सात देशका कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशतभन्दा बढी थियो । बाँकी देशमा खास गरी एसिया प्रशान्त क्षेत्रका देशमा यो क्षेत्रको ठोस विकास भएन । सन् २०१९ मा नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान नगण्य थियो । त्यसैले यस वर्ष पर्यटन विकासको सन्दर्भमा नेपाल विश्वको ८८ औँ स्थानमा रहेको थियो । 

सन् २०२१ मा ‘दी ग्लोबल इकोनोमी डटकम’ ले पर्यटन क्षेत्रबाट कुल गार्हस्थ उत्पादनमा १० प्रतिशतभन्दा बढी योगदान प्राप्त गर्ने देशका नाम आफ्नो प्रतिवेदनमा समावेश गरेको थियो । सो प्रतिवेदन अनुसार सन् २०२१ मा अरुबा भन्ने देशको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४१.२६ प्रतिशत भई पहिलो स्थानमा रहेको थियो भने माल्दिभ्सको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३७.६१ प्रतिशत भई विश्वको दोस्रो स्थानमा रहेको थियो । यसै गरी एन्टिगवा एन्ड बर्बाडोसको ३०.३६ प्रतिशत र नेदरल्यान्डको मातहतमा रहेको एन्टिलेस टापुको २३.३ प्रतिशत योगदान थियो । सन् २०२१ मा सम्बन्धित देशका कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रबाट १० प्रतिशतभन्दा बढी योगदान प्राप्त गर्ने देशमध्ये सबैभन्दा सानो देश बहमास हो । यस वर्ष यसको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १०.३८ प्रतिशत थियो । 

सन् २०२१ मा नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान नगण्य थियो । तसर्थ ‘ग्लोबल इकोनोमी डटकम’ ले त्यसबेला प्रकाशित गरेको प्रतिवेदनमा नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ०.७१ प्रतिशत औँल्याइएको थियो, जुन अन्य साना राष्ट्रको तुलनामा न्यून हो । भौगोलिक विविधताको सम्बन्धमा नेपाल अन्य देशको तुलनामा कम छैन । यहाँ विश्वकै उच्च हिमशिखर सगरमाथालगायत आठ हजार मिटरमाथिका आठ वटा हिमाल छन् । यसबाहेक यहाँ मधेश र समथर मैदान, भित्री मधेश, ससाना मैदान, उपत्यका, टार र खोँच प्रशस्त छन् । यिनीहरूले पर्यटकलाई आकर्षित गर्छन् । 

नेपाल विभिन्न किसिमका जडीबुटीजन्य वनस्पतिका लागि पनि प्रसिद्ध छ । सन् १९७० देखि सन् १९८० सम्म गरिएको एक अध्ययन अनुसार यहाँ पाँच हजार ६७ प्रकारका वनस्पति पाइन्छन्, जसको हालसम्म पनि उपयुक्त किसिमबाट सदुपयोग गर्न सकिएको छैन । यिनीहरूको संरक्षण गर्न सकेमा भविष्यमा यहाँ आउने पर्यटकको सङ्ख्या निकै नै बढ्ने कुरा नकार्न सकिँदैन ।

विश्वमा कोभिडको असर न्यून भएपछि अन्तर्राष्ट्रिय मापदण्ड खुकुलो बनाइएको छ भने व्यावसायिक वातावरण पनि सहज बन्दै गएको छ । यसबाहेक अन्तर्राष्ट्रिय बजारमा पर्यटकीय क्षेत्रको प्रभावकारी बजारीकरणका नयाँ रणनीतिक कार्ययोजना बनाउन तयारी भएकाले आउँदा वर्षमा नेपाललगायत विश्वका धेरै देशमा पर्यटकको सङ्ख्या बढ्ने सम्भावना छ । नेपाल सरकारले हरेक वार्षिक बजेटमा सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्य स्थल विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्दै लैजाने कुरा उल्लेख गर्दै आएको छ । यसबाहेक नेपाल सरकारले एकातर्फ सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ भने अर्कातर्फ सन् २०२२ देखि सन् २०३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाएर यहाँ प्रतिवर्ष ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । 

वर्तमान समयमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र विदेशी पर्यटक नेपाल आउँछन् । भविष्यमा पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न सक्ने सम्भावना छ । हाल नेपालका विभिन्न ठाउँमा तारे होटेल स्थापना गर्ने क्रम बढिरहेकाले भविष्यमा विदेशमा यसको बजारीकरण बढ्ने छ, जसको फलस्वरूप पर्यटकको सङ्ख्या निकै नै बढ्ने छ । 

नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइ अवधि पनि अन्य देशको तुलनामा न्यून छ । तसर्थ हालसम्म पनि यहाँको पर्यटन उद्योगबाट आशा गरे अनुरूप फाइदा प्राप्त गर्न सकिएको छैन । उदाहरणका लागि सन् २०१७ मा यहाँ आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइ १२.६ दिन थियो भने सन् २०१८ र सन् २०१९ उक्त अवधि १२.४ दिन थियो । सन् २०२० मा यहाँ भ्रमण गर्न आएका विदेशी पर्यटकको औसत बसाइ केही बढे पनि सन् २०२१ मा सो अवधि १५.१ दिन पुगेको थियो, जुन हालसम्मकै बढी मानिन्छ । 

नेपालमा आउने विदेशी पर्यटकले यहाँको अर्थतन्त्रमा केही प्रभाव पार्छन् तर छोटो बसाइका कारण उनीहरूले थोरै रकम मात्र खर्च गर्छन् । त्यसैले उनीहरूले यहाँको अर्थतन्त्रमा थोरै मात्र योगदान पु¥याउँछन् । उदाहरणका लागि सन् २०१७ मा यहाँ आउने विदेशी पर्यटकले प्रतिदिन प्रतिव्यक्ति औसत ५४ डलर खर्च गरेका थिए भने सन् २०१८ मा ४४ डलर मात्र खर्च गरेका थिए । 

यसै गरी सन् २०१९ मा यहाँ आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत खर्च ४८ डलर थियो । यद्यपि सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति खर्च ६५ डलर पुगेको थियो, जुन हालसम्मकै बढी हो ।  पर्यटन क्षेत्रको विकासका लागि भविष्यमा यहाँ आउने विदेशी पर्यटकको औसत बसाइ अवधि बढाउन सक्नु पर्छ । यसका लागि एकातर्फ उनीहरूलाई बढी सुविधा दिन आवश्यक छ भने अर्कातर्फ उपयुक्त योजना बनाई कार्यान्वयन गर्न उत्तिकै जरुरी छ । नेपालमा आर्थिक वर्ष २०७९/८० को सुरुदेखि नै पर्यटकको आगमनमा सुधार हुन थाल्यो किनभने कोभिड–१९ को असर कम भएपछि अन्तर्राष्ट्रिय मापदण्ड खुकुलो बने र व्यावसायिक वातावरण सहज बन्दै गयो । 

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ मा नेपालमा १० लाखभन्दा बढी पर्यटक भित्रिए । कोभिड–१९ को महामारीपछि उक्त वर्ष यहाँ सबैभन्दा बढी पर्यटक आएका हुन् । बोर्डका अनुसार अन्तर्राष्ट्रिय बजारमा पर्यटकीय क्षेत्रको प्रभावकारी बजारीकरणका लागि नयाँ योजना बनाउने तयारी भएकाले आगामी वर्षमा पर्यटकको सङ्ख्या बढ्ने सम्भावना छ । 

सरकारले हरेक वर्षको बजेटमा सुरक्षित एवं आकर्षक गन्तव्य स्थलको विकास गर्दै यहाँको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्ने कुरा उल्लेख गर्दै आएको छ तर यसलाई व्यवहारमा उतार्न सहज छैन । यसका लागि सरकारी तथा गैरसरकारी सङ्घ संस्थाको सक्रिय सहयोग आवश्यक छ ।  

Author

केबी बस्नेत