• २२ भदौ २०८१, शनिबार

हाडहाडेका चार सय घरमा खानेपानीका धारा

blog

रमेश विश्वकर्मा 

गुल्मी, साउन २० गते। गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–३, हाडहाडेका करिब चार सय घरमा खानेपानीका धारा जडान गरिएको छ। यस वडामा सञ्चालन भएको ठुलामुल लिफ्टिङ खानेपानी आयोजनाबाट व्यक्तिगत घरमा र सार्वजनिक संस्था गरेर कुल ३९२ वटा धारा जडान गरिएको हो। 

आर्थिक वर्ष २०७६/०७७ मा निर्माण कार्य सुरु भएको खानेपानी आयोजना चार वर्षपछि सम्पन्न भएसँगै यहाँका ३८८ घरमा खानेपानी पुगेको छ। 

सैनिक प्रावि, वडा कार्यालय, स्वास्थ्य चौकीलगायतका संस्थामा पनि यसै आयोजनाको पानी जडान गरिएको छ। आयोजना सम्पन्न भएसँगै हाडहाडेमा कुल ५५९ घरमा धारा पुगेको छ। यसै आर्थिक वर्षमा हाडहाडेलाई ‘एक घर, एक धारा’ घोषणा गर्ने गरी आफू लागेको वडा अध्यक्ष पदमबहादुर विष्टले जानकारी दिनुभयो। 

आयोजनाको दिगो सञ्चालनको लागि उपभोक्ताहरूलाई आग्रह गर्नुहुँदै गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले आफूहरूले निर्वाचनमा गरेको प्रतिबद्धता पुरा गर्न थालेको बताउनुभयो। 

चार करोड लागतमा यस ठुलामुल लिफ्टिङ खानेपानी आयोजनाको सम्पन्न भएको हो। गाउँपालिकाले वडा नम्बर –१ नयाँगाउँ, वडा नम्बर –४ जैसिथोक र वडा नम्बर –६ रजस्थल गरी तीन वडालाई ‘एक घर, एक धारा’ युक्त वडा घोषणा गरिएको छ।