• १९ पुस २०८१, शुक्रबार

हवाई टिकटमा हुने दुरुपयोग रोक्नुपर्छः एमाले सचेतक बराल

blog

सत्तारुढ नेकपा (एमाले)का सचेतक सुनिता बराल प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै ।

काठमाडौँ, साउन २१ गते । सत्तारुढ नेकपा (एमाले)का सचेतक सुनीता बरालले हवाई टिकटमा पद र पहुँचको दुरुपयोग गर्ने काम तत्काल रोक्न सरकारसँग माग गर्नुभएको छ ।

हवाई यातायातका लागि पद र पहुँचको दुरुपयोग हुँदा सर्वसाधारणले टिकट नपाउने दुःखद अवस्था रहेको उल्लेख गर्नुहुँदै उहाँले त्यस्तो अवस्थाको अन्त्य हुनेगरी आवश्यक व्यवस्था मिलाउने काममा सरकारले ढिलाइ गर्न नहुने उहाँको भनाइ थियो ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सचेतक बरालले विभिन्न जिल्लाको सडक सञ्जाल मर्मतको काममा पनि तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । दशैँ, तिहारजस्ता चाडपर्व आउन लागेकाले सरकारले सर्वसाधरणले सार्वजनिक यातायातबाट सहज ढङ्गले घर जान पाउने गरी सडक मर्मतको काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘‘चाडबाड आउने क्रम सुरु भएकाले विभिन्न जिल्लामा जाने सडक मर्मत गर्ने कामलाई तीव्रता दिन जरुरी छ । हवाई यातायातमा असाध्यै धेरै अनियमितता हुन्छ भन्ने कुराको व्यापक गुनासो छ । पद र पहुँचको दुरुपयोग गर्ने र सर्वसाधारण जनताले टिकट नै नपाउने यो असाध्यै धेरै दुःखद अवस्था छ ।,’’ एमाले सचेतक बरालले भन्नुभयो, ‘‘यो अवस्थाको अन्त्यका लागि सबै टिकट बिक्री गर्ने कामलाई सिष्टममा राख्ने र टिकट खोजिएको अवसरमा नियमित प्रक्रियाबाट उपलब्ध हुनेगरी प्रबन्ध मिलाउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’’

सचेतक बरालले सर्वसाधारणले सार्वजनिक यातायातमा धेरै दुःख पाउने गरेकोतर्फ पनि सरकारलाई सचेत गराउनुभयो ।