• २२ साउन २०८१, मङ्गलबार

प्रधानमन्त्री ओलीद्वारा धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

blog

प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँ–तराईरमधेश द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गर्नुहुँदै ।

बकैया (मकवानपुर), साउन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवम् रणनीतिक महत्त्वको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गर्नुभएको छ ।

मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा सोमबार एक समारोहबिच प्रधानमन्त्री ओलीले काठमाडौँ–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ ब्रेक थ्रु गर्नुभएको हो । निजगढ–कामाठाडौँतर्फको एक दशमलव छ सय ५३ किमी धेद्रे सुरुङ भने गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । धेद्रे सुरुङ  छिचोलिएसँगै प्याकेज नं दुई अन्तर्गतका सबै सुरुङ खोल्ने काम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउँदै आयोजनाको भौतिक प्रगति ३५ दशमलव ९८ प्रतिशत रहेको जानकारी दिनुभयो ।

लेनडाँडामा रहेको निजगढ–काठमाडौँतर्फको एक दशमलव ६ सय १२ किमी र काठमाडौँ–निजगढतर्फको एक दशमलव ६ सय ३३ किमी सुरुङ यसअघि नै खनिसकिएको छ । तीन दशमलव तीन सय २२ किमीको निजगढ–काठमाडौँतर्फको महादेवटार सुरुङ हालसम्म दुई दशमलव २९ किमी तथा तीन दशमलव तीन सय ८६ किमीको काठमाडौँ–निजगढतर्फको दुई दशमलव दुई सय ८८ किमी सुरुङ खनिसकिएको छ । सो सुरुङ यसैवर्ष सम्पन्न गर्नेगरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

द्रुतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल  ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् । बाँकी चार पुल खोकना क्षेत्रमा छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा ढिलाइ भइरहेको छ ।

प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७० दशमवल नौ सय ७७ किलोमिटर छ । द्रुतमार्ग पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ । द्रुतमार्गगमा १० दशमवल तीन सय नौ ९ किमी लम्बाइका ६ वटा सुरुङ बन्ने छन् । आयोजनाअन्तर्गत देवीचौरमा एक किमी, सिसौटारमा शून्य दशमलव ३९ किमी, चन्द्राम भीरमा दुई दशमलव २५ किमी, महादेवडाँडामा तीन दशमलव तीन सय ५५ किमी, धेद्रेमा एक दशमलव ६ सय ९१ र लेनडाँडामा एक दशमलव ६ सय २३ किमी लामो सुरुङ निर्माण हुनेछ ।

सो सडकमा विभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमी लम्बाइका ८९ पुल निर्माण हुनेछन् । बुदुनेमा दुई विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक/एक इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिनेछन् ।

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको हो । सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गर्नुभएको थियो । सरकारले २०७४ साउन २७ गते सडक विभागबाट सेनालाई आयोजना हस्तान्तरण गरेको थियो ।

सो अवरसमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही तथा नेपालका लागि चीन र दक्षिण कोरियाका राजदूत उपस्थिति हुनुहुन्थ्यो । रासस