• १२ मंसिर २०८१, बुधबार

सरकारले आन्तरिक रोजगार महाशाखा स्थापना गर्छ : श्रममन्त्री भण्डारी

blog

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, साउन १७ गते । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित गर्नका लागि आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्नुहुँदै श्रममन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

उहाँले श्रम मन्त्रालय नेपालीलाई विदेश पठाउने मन्त्रालयको रूपमा मात्रै चिनिएको भन्दै आन्तरिक रोजगारीलाई व्यवस्थित र एकीकृत बनाउनका लागि आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागेको बताउनुभयो । उहाँले सरकारले आन्तरिक रोजगार महाशाखा स्थापना गरी आन्तरिक रोजगारीमा भएका सबै सम्भावनालाई एकीकृत गरी एकद्वार प्रणालीले काम गर्न लागेको जानकारी दिनुभयो ।

मन्त्री भण्डारीले आन्तरिक रोजगार महाशाखा स्थापना गरी आन्तरिक रोजगारका सबै क्षेत्रलाई एक ठाउँमा ल्याएर काम गर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै सबै कार्यक्रमलाई मर्ज गरेर आन्तरिक रोजगार महाशाखाले काम गर्ने जानकारी दिनुभयो । उहाँले ५७३ स्थानीय तहका रोजगार सेवा केन्द्रका माध्यमबाट तथ्याङ्क सङ्कलन गर्ने लक्ष्य बनाएको उल्लेख गर्नुभयो ।

मन्त्री भण्डारीले विदेश जाने श्रमिकले अङ्ग्रेजी भाषा अनिवार्य गर्दा सबैतिरबाट विरोध भए पनि कार्यान्वयन गरेर जाने उल्लेख गर्नुभयो । उहाँले जापान जानेले जापनिज भाषा, कोरिया जानेले कोरियन भाषा पढ्नुपर्ने भएकाले अन्य देश जानेले अङ्ग्रेजी भाषा पढेर जाँदा ठगिने सम्भावना कम हुने बताउनुभयो । उहाँले फ्रि भिसा,फ्रि टिकटमा कार्यान्वयनमा समस्या रहेको बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारीमा जाँदा श्रमिक लैजानेले कम्पनीले वा श्रमिक आफैँले लागत व्यहोर्नुपर्ने अवस्था रहेकाले फ्रि भिसा, फ्रि टिकट हुन नसक्ने बताउनुभयो । उहाँले अब सरकारले वैदेशिक रोजगारमा जानका लागि एक जना श्रमिकले कति सेवा शुल्क तिर्नुपर्छ भन्ने यकिन लागत तोक्ने गृहकार्यमा लागेको जानकारी दिनुभयो ।