• १४ साउन २०८१, सोमबार

मन्त्रिपरिषद बैठक : राजदूत फिर्ता बोलाउने र नयाँ नियुक्तिको सिफारिस

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौं, साउन १४ गते । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले विभिन्न देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र केही देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । 

मन्त्रिपरिषदको बैठकपछि गोरखापत्रसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिनु भएको हो । 

सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, दक्षिण कोरिया, कतार, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, रुस, चीन, डेनमार्क, अस्ट्रेलिया, मलेसिया, साउदी अरब, इजरायल, जर्मनी, पाेर्चुगलका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेकाे छ । 

राससका अनुसार, सरकारले विभिन्न १८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राससलाई जानकारी दिनुभयो । 

उहाँले भारतका लागि राजदूतमा शङ्कर शर्मालाई निरन्तरता दिने र अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो । मन्त्री गुप्ताका अनुसार बैठकले विभिन्न पाँच वटा देशबाट राजदूत फिर्ता बोलाउने समेत निर्णय गरेको छ । 

 यसैगरी, बैठकले अस्ट्रेलिया, चीन, श्रीलंका, दक्षिण अफ्रिका, रसियाका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । अन्य देशका राजदूतलाई यसअघि नै फिर्ता बोलाउने निर्णय भएकाले नेपाली राजदूतको पद रिक्त रहेको छ ।