• १२ साउन २०८१, शनिबार

तीन महिनाको अवधि सफल भएको मुख्यमन्त्रीको दाबी

blog

सुर्खेत समाचारदाता

सुर्खेत, साउन १२ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएको सय दिनको अवधिमा प्रदेशका मुख्य तीन वटा समस्या समाधान गर्न सफल भएको दाबी गर्नुभएको छ । 

पत्रकार भेटघाटको कार्यक्रममा उहाँले प्रदेशवासीको जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने तीन वटा समस्या छलफलका माध्यमबाट समाधान गर्न सफल भएको दाबी गर्नुभएको हो । 

सुर्खेत ल्याउन लागिएको १३२ केभिए विद्युत् प्रसारण लाइनको बाँकेमा देखिएको अवरोधलाई समाधान गरेको, पश्चिम सुर्खेतको बाबियाचौरबाट आएको ३३ केभी विद्युत् प्रसारणमा वराहतालको बड्डीचौरवासीले गरेको अवरोध समाधान गर्न सफल भएको र निजी क्षेत्रका समस्याको समाधान गर्न सफल भएको दाबी उहाँले गर्नुभयो । 

उहाँका अनुसार पश्चिम सुर्खेतबाट सदरमुकाम वीरेन्द्रनगरमा ल्याइएको ३३ केभी विद्युत्को पोल बड्डीचौरमा उखेलेर फालिएको थियो । स्थानीयका समस्या बुझेर विद्युत् लाइन वीरेन्द्रनगरमा ल्याएपछि अहिले छिन छिनमा विद्युत् जाने समस्यामा कमी आएको उहाँले बताउनुभयो । 

प्रदेश र प्रदेशवासीको जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने समस्या आफू प्रदेशको नेतृत्वमा आउनासाथ सबैको सहयोगले समाधान भएको उहाँको भनाइ छ । अन्य समस्याका बारेमा पनि समाधानका उपाय खोज्दै जाने मुख्यमन्त्री कँडेलले बताउनुभयो । 

यद्यपि प्रदेश योजना आयोगमा पदाधिकारी नियुक्त गर्ने, नयाँ परिस्थिति अनुसार मन्त्रीपरिषद्लाई पूर्णता दिन भने उहाँको कदम ढिलो चलेको छ । पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले विगतमा प्रदेश योजना आयोगमा पदाधिकारी नियुक्त गर्ने अन्तिम तयारी भएका बेला राजनीतिक अवस्था परिवर्तन भएको र अहिले भने छलफल नै नभएकाले त्यो काम पूरा गर्न नसकेको स्विकार्नुभयो । यस्तै अहिले माओवादीका मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएकाले नेपाली कांग्रेससँग सत्ता साझेदारीबारे छलफल हुन नसकेको उहाँको भनाइ छ । कांग्रेसका प्रदेश सभा सदस्य धेरै जसो काठमाडौँमा भएकाले छलफल हुन नसकेको र चाँडै सत्ता साझेदारीबारे छलफल भई सरकारलाई पूर्णता दिइने उहाँले बताउनुभयो । 

यस्तै आगामी वर्षभित्र लोक सेवा आयोगलाई थप सक्रिय बनाई ७५ प्रतिशत कर्मचारीको पदपूर्ति गरिने छ । मुख्यमन्त्री कँँडेलले आगामी वर्षभित्र प्रदेश लोक सेवा आयोगबाट उपसचिव तहसम्मको पदपूर्ति गर्ने योजना रहेको जानकारी दिँदै कर्मचारीको अभाव केही हदसम्म समाधान गरिने जिकिर गर्नुभयो । सीमित स्रोत साधनलाई अधिकतम प्रयोग गरी कर्णाली बनाउने अभियानमा लागेको पनि उहाँले बताउनुभयो । सबै राजनीतिक दलसँग समन्वय गरी जानुपर्ने हुँदा चाहे जतिको छिटो काम गर्न नसकेको स्वीकार उहाँले गर्नुभयो ।