• ११ साउन २०८१, शुक्रबार

नगरप्रमुख नकर्मीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

blog

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा । फाइल तस्बिर

काठमाडौँ, साउन ११ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कीर्तिपुरका नगरप्रमुख एवम् कांग्रेस काठमाडौँका उपसभापति नकर्मीको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । नकर्मीको बिहीबार राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सभापति देउवाले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्व.नकर्मीले पुर्याउनुभएको सक्रिय योगदानको स्मरण गर्नुहुँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले मृत आत्माको चिरशान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

वि.सं.२०२० असार २० गते जन्मनुभएका नकर्मीले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी नेतृत्व गुमाएको छ । पार्टी सभापति देउवाले आज कीर्तिपुर नगरपालिकाको कार्यालय परिसरमा पुगेर उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

त्यसैगरी, कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवम् उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, पार्टीका केन्द्रीय सदस्यहरु, जिल्ला सभापति, अन्य नेता एवम् कार्यकर्ताहरु तथा स्वर्गीय नकर्मीका आफन्तजन अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई आजै कीर्तिपुरको दिखु खोलामा अन्तिम दाहसंस्कार गरिएको कांग्रेसले जनाएको छ । रासस