• ९ साउन २०८१, बुधबार

‘न्यायमा पहुँच अभिवृद्धिका लागि पीडितमैत्री न्याय प्रणालीको सुदृढीकरण आवश्यक छ’

blog

तस्बिर : रासस

सिरहा, साउन ९ गते । उच्च अदालत जनकपुर, राजविराज इजलासका मुख्य न्यायाधीश वामदेव ज्ञवालीले आमनागरिकको न्यायमा पहुँच अभिवृद्धिका लागि पीडितमैत्री न्याय प्रणालीको सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ । 

आज सिरहाको धनगढीमाई नगरपालिका र समग्र जनउत्थान केन्द्र लहानद्वारा संयक्तरुपमा आयोजित ‘संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना-२ को न्यायिक पहुँचसम्बन्धी कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

मुख्य न्यायाधीश ज्ञवालीले सामाजिक न्यायसहितको पीडितमैत्री न्यायसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । “सामाजिक न्यायलाई सम्बोधन गर्न न्यायमा पहुँच अभिवृद्धि गर्नैपर्छ । यसका लागि पीडितमैत्री न्याय सम्पादन गरी कानुनी सहायतालाई प्रभावकारी बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “जनप्रतिनिधिदेखि राज्यका सबै तह र तप्काले नागरिकको न्यायको पहुँचमा देखिएको अवरोध हटाउन सहयोग गर्नुपर्छ ।” यसैगरी उहाँले प्रक्रिया र प्रणालीको पालना गरी मेलमिलापमैत्री समाजको निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतोले हरेक नागरिकको सर्वसुलभरुपमा न्यायमा पहुँच अभिवृद्धि गरिनुपर्नेमा धारणा राख्नुभयो । नगरपालिका उपप्रमुख सङ्गीता कुमारी चौधरीले न्यायिक क्षेत्रमा देखिएका समस्या पहिचान गर्न तथा निरूपण गर्न चुनौती रहेको बताउनुभयो । 

समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोले सबै जनाको साथ र सहकार्यमा नागरिकको न्यायमा पहुँच अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । जोखिममा रहेका जनसङ्ख्या तथा विशेष गरी महिला, दलित, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यक, गरिब तथा सीमान्तकृत समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्न युएनडिपीको सहयोगमा आफ्नो संस्थाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । रासस