• ९ साउन २०८१, बुधबार

'ग्रीन एण्ड क्लीन' धरान अभियान सुरु

blog

निशा राई

धरान, साउन ९ गते । नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन अभियान लिएर धरानमा घरदैलो कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रम कांग्रेसले ४२ औँ बिपी स्मृति दिवसको अवसर पारेर सञ्चालन गरेको हो । 

धरान १९ बाट सुरु गरिएको अभियानमा घरदैलो कार्यक्रममा कागती, अम्बक, सरिफा, बेल, अमला, तेजपत्ता लगायतका विभिन्न जातका फलफूलका बिरुवाहरू वितरण गरिएको छ । अभियानको क्रममा सडक सरसफाइ र डेङ्गु लार्भा नष्ट तथा डेङ्गु सम्बन्धी सचेतना पर्चा वितरण गरिनुका साथै डेङ्गु बिरामीहरूलाई सिटामोल र जीवनजल समेत वितरण गरिएको नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङले बताउनुभयो । यो अभियान अत्यन्तै उत्कृष्ट र जनमुखी भएकोले जनताको मन जित्ने हुँदा अभियानको पूर्ण सफलताको कामना गर्दै आयोजक क्षेत्रीय समितिको उच्च प्रशंसा समेत गर्नुभयो ।

यो कार्यक्रम गत वर्ष पनि गरिएकामा जनप्रिय र प्रभावकारी भएकाले गत वर्षमा पुग्न नसकिएका धरानका टोल बस्तीहरूमा पुनः अभियान सञ्चालन गरिएको अभियानका संयोजक एवम् नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताउनुभयो । यस अभियानमार्फत जनताको घरघरमा पुगिने हुँदा जनतासँग साक्षात्कार भई पार्टी र जनता बिचको सम्बन्ध सुदृढ हुनका साथै हरियाली प्रवर्द्धन, सरसफाइ र डेङ्गु रोगबारे सचेतना अभिवृद्धि समेत हुने हुँदा आमजनतामा र स्थानीय वातावरण तथा पर्यावरणमा सकारात्मक प्रभाव पर्ने सभापति तामाङले बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष धरानका १, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं. वडाहरूमा अभियान सञ्चालन गरिने भएको छ । घरमै आएर जीवनोपयोगी बिरुवा, औषधी, जनचेतना मूलक पर्चा वितरण र सडक सरसफाइ समेत गरेको भन्दै वडावासीहरूले अभियान रचनात्मक र प्रशंसा गर्न लायक भएको बताउँदै अभियानलाई रुचाउनुका साथै नेपाली कांग्रेसलाई धन्यवाद प्रकट समेत स्थानीयहरूले गरेको छ । 

कार्यक्रम नेपाली कांग्रेस सुनसरीको १ नं. प्रतिनिधि सभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १(१) र १(२) समितिको संयोजन र नेपाल महिला सङ्घ, नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलको सहकार्य एवम् सम्बन्धित वडा कार्य समितिको स्थानीय व्यवस्थापनमा ग्रीन एण्ड क्लीन धरान अभियान गरिएको क्षेत्रीय सहसचिव सुमित राईले बताउनुभयो ।

यो अभियान भदौ १ गतेसम्म सञ्चालन हुने बताइएको छ । अभियानमा नेपाली कांग्रेस पार्टी र भातृ एवम् शुभेच्छुक सङ्घसंस्थाका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।