• ९ साउन २०८१, बुधबार

लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण

blog

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पदभार ग्रहण गर्नुहुँदै ।

लीलाधर वली

घोराही, साउन ९ गते । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पदभार ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले सुशासन प्रवर्द्धन र भ्रष्ट्राचार न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना लागु गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । 

राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान गठबन्धन सरकार सुशासन कायम गर्न, प्रदेशको औचित्य पुष्टि गर्नेगरी काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको हो । वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकारलाई असफल हुने छुट नभएको भन्दै मुख्यमन्त्री आचार्यले जनताले प्रदेश सरकारको अनुभूति गर्नेगरी काम गर्ने बताउनुभयो ।

नवनियुक्त मुख्यमन्त्री आचार्यले भन्नुभयो, “केही दिनभित्र मन्त्रीहरूको कार्यविभाजन गर्ने र  मन्त्रिपरिषद्लाई पूर्णता दिने जानकारी गराउनुभयो । पदभार ग्रहणपछि प्रमुख सचिव, सचिव तथा कर्मचारीसँग छलफल गर्दै मुख्यमन्त्री आचार्यले उच्च मनोबलका साथ जनताको पक्षमा काम गर्न निर्देशन दिनुभयो ।