• ९ साउन २०८१, बुधबार

जहाज मर्मत गर्ने इन्जिनियरकै मृत्यु : शवहरूको सनाखत हुँदै

blog

दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज । तस्बिर : केशब गुरुङ

मित्र भण्डारी 

काठमाडौँ, साउन ९ गते । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परिवार आएर शवको सनाखत भएपछि मात्रै पोस्टमार्टम गरिने छ । 

त्रिवि अस्पतालमा अहिले दुर्घटनामा परेका परिवारजनको भिड लागेको छ । शव पहिचानको कार्य जारी रहेको अस्पताल स्रोतले जनाएको छ । 

दुईवटा शवको पहिचान गर्न सकिने अवस्थामा छन् बाँकीको शव जलेर चिन्न नसकिने अवस्थामा छ । यात्रुमध्ये एकजना महिला, एक १० वर्षीय बालक, एक विदेशी र अन्य पुरुष छन् । 

ग्राउण्डेड रहेको जहाजलाई मर्मतका लागि पोखरा लगेर मर्मत गर्ने क्रममा इन्जिनियर यज्ञप्रसाद पौडेल पनि सोही जहाजमा जाँदै हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा जहाज मर्मत गर्ने योजना रहेको थियो, एयरलाइन्सका एक कर्मचारीले गोरखापत्रलाई बताए ।

सो जहाज काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा जानका लागि उड्ने क्रममा आगो लागेको थियो । जहाज उड्ने क्रममा रनवे छेउमा रहेको कन्टेनरमा ठोक्किएको र दुई टुक्रा भएको थियो । 

जहाजका क्याप्टेन मनिष शाक्यको भने केएमसी अस्पताल सिनामङ्गलमा उपचार जारी छ । अस्पतालका चिकित्सक डा. विशद दाहालले उहाँको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएकाले उहाँको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उहाँको शरीरमा जलन छैन तर शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै मुखबाट पनि रगत बगिरहेकोले हाल अस्पतालको आकस्मिक उपचार उपचार  कक्षमा उपचार भइरहेको छ । थप उपचार पछि मात्र उहाँ कति गम्भीर हुनुहुन्छ भन्न सकिन्छ ।” 

यस्तै, जहाजमा सवार अन्य १८ यात्रुहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बुधबार करिब ११: ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।