• ९ साउन २०८१, बुधबार

साठी लाख महसुल उठ्यो

blog

विद्युत् वितरण केन्द्रको कार्यालय ।तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता  

बैतडी, साउन ९ गते । विद्युत् वितरण केन्द्रले वर्षाैंसम्म महसुल नबुझाउने ९३ वटा सरकारी कार्यालय र ५९९ ग्राहक गरी ६९२ ग्राहकको लाइन काटेपछि ६० लाख रुपियाँ महसुल उठेको छ । ४९९ ग्राहकबाट यतिको रकम उठेको हो । 

आर्थिक वर्ष २०८०/८१ मा लाइन काटिएका ९३ मध्ये ७६ सरकारी कार्यालय र ५९९ मध्ये ४२३ जना अन्य ग्राहकले ५६ लाख ३४ हजार ५८४ रुपियाँ महसुल बुझाएका हुन् । ग्राहकले महसुल बुझाएर पुनः लाइन जोड्न चार लाख २२ हजार ९०३ रुपियाँ थप शुल्क बुझाएका छन् । 

नियम अनुसार तिर्नुपर्ने महसुल बर्सौंसम्म नबुझाएका ग्राहकको पहिलो पटक लाइन काटिएको विद्युत् वितरण केन्द्रले जनाएको छ । लाइन काटेपछि एक वर्षमै ६० लाख रुपियाँभन्दा बढी महसुल उठेको कार्यालय प्रमुख जनार्दन पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “लाइन काटिएका ६९२ ग्राहकमध्ये ४९९ ग्राहकले महसुल बुझाएर पुनः लाइन जडान गरिसकेका छन् । ९३ सरकारी कार्यालयको लाइन काटिएकोमा ७६ वटा कार्यालयले शुल्क बुझाएका छन् ।” त्यसै गरी लाइन काटिएका ५९९ अन्य ग्राहकमध्ये ४२३ जनाले शुल्क बुझाएर लाइन जडान गरेका छन् १७६ जना ग्राहक सम्पर्कमा नआएका उहाँले जानकारी दिनुभयो । 

निःशुल्क बिजुली 

पाटन नगरपालिका–९ का वडाध्यक्ष कालुसिंह भाट आफूले पाउने सुविधाको रकमबाट वडाका २७० घरपरिवारको बिजुलीको महसुल तिर्दै आउनुभएको छ । बिजुलीको महसुल तिरेर बचेको रकमबाट उहाँले स्थानीय सरस्वती आधारभूत विद्यालयमा सरस्वतीको मन्दिर निर्माणमा खर्च गर्नुभएको छ ।  

सुर्नया र पञ्चेश्वरमा निःशुल्क मिटर

सुर्नया गाउँपालिका–८ का १४५ घरपरिवारलाई वडा कार्यालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराएको छ । पञ्चेश्वर गाउँपालिकाले पनि वडाका विपन्न घरपरिवारका लागि विद्युत् जडान गर्न सहयोग प्रदान गरेको छ । पालिकाका अनुसार पालिकाको सहयोग रकमबाट एक सय वटा मिटर जडान गरिएको विद्युत् वितरण केन्द्रले जनाएको छ ।