• ९ साउन २०८१, बुधबार

डल्फिन अवलोकनकर्ता बढे

blog

मोहना नदीमा देखिएको डल्फिन ।तस्बिर : अविनाश चौधरी

धनगढी समाचारदाता

धनगढी, साउन ९ गते । कैलालीका विभिन्न नदीमा देखा पर्ने दुर्लभ डल्फिन अवलोकन गर्न आउने आगन्तुकको सङ्ख्यामा बढोत्तरी हुन थालेको छ । नदीमा देखा परिरहेका डल्फिन अवलोकनका लागि विदेशीसमेतका पर्यटक आउन थालेका छन् । 

डल्फिन अवलोकनका लागि आन्तरिकसहित बाह्य पर्यटक आउन थालेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जनाउनुभयो । 

उहाँका अनुसार विगत वर्ष जस्तो यो वर्ष धेरै डल्फिन अवलोकनकर्ता नआए पनि विस्तारै अब सङ्ख्या बढ्दो क्रममा रहेको छ । “विगत वर्षको तुलनामा यो वर्ष डल्फिन नै ढिलो गरेर देखा परेको हो ।” 

उहाँले भन्नुभयो, “डल्फिन ढिलो गरेर देखिएका कारण अवलोकनकर्ता पनि यो वर्ष ढिलै आउने अनुमान गरिएको छ । आउने क्रम बढ्न थालेको छ ।” कर्णाली नदीमा वर्षभरि नै देखा पर्ने दुर्लभ डल्फिन सहायक नदीहरू मोहना, पथरैया, काँढा, कान्द्रामा मनसुन सिजनमा मात्रै देखापर्ने गर्छन् । 

सहायक नदी तथा यी नदीका दोभानमा नजिकबाट दुर्लभ डल्फिन देखिने गरेका कारण स्वदेशीसहित विदेशी पर्यटक डल्फिन हेर्न कैलालीको टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन देखिने क्षेत्रमा अवलोकनका लागि पुग्ने गरेका छन् । 

पूर्वसंविधान सभा सदस्य वीरमान चौधरी, वडाध्यक्षद्वय यज्ञप्रसाद न्यौपाने र पङ्कज चौधरी पनि डल्फिन अवलोकनमा सहभागी हुनुभएको थियो । यो वर्ष २५ देखि ३० को सङ्ख्यामा डल्फिन देखा परिरहेका जनाइएको छ । 

जसमा १० देखि ११ वटासम्म साना बच्चा रहेका छन् । मोहना र पथरैया नदीको दोभानमा मात्रै आठ वटासम्म डल्फिन दैनिक रूपमा देखा परिरहेको जनाइएको छ । 

स्वच्छ पानीमा आहारविहार गर्ने गङ्गेटिक प्रजातिको डल्फिन यहाँका नदीमा मनसुन अवधिभरि बच्चा हुर्काउनका लागि आउने गरेको बताइन्छ । डल्फिनलाई स्थानीयले सोँस भनेर चिन्ने गरेका छन् ।