• ९ साउन २०८१, बुधबार

दुधको अभावसँगै बढ्यो मूल्य

blog

अमरगढी समाचारदाता

डडेलधुरा, साउन ९ गते  । किसानले दुध बेचेको पैसा नपाउँदा बजारमा दुधको अभाव देखिएको छ । दुधको अभावसँगै मूल्य बढेको छ । भित्री मधेशको आलीताल गाउँपालिकाका किसानले दुध बिक्री गरेबापतको पैसा हालसम्म पाएका छैनन् । पैसा नपाउँदा कतिपयले गाईभैँसी पाल्न छाडेका छन् । 

बजारमा दुधलगायत दुग्धजन्य पदार्थको अभाव चुलिँदा मूल्य बढेको उपभोक्ता बताउँछन् । गत वर्षसम्म दैनिक एक हजार पाँच सय लिटर दुध सङ्कलन हुने आलीतालको जोगबुढा क्षेत्रमा यस वर्ष करिब तीन सय लिटर मात्रै सङ्कलन भएको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख देवराज भट्टका अनुसार आलीताल गाउँपालिका–४ र ६, जोरायल गाउँपालिका–२ का किसानले गाईपालन गरेर मनग्गे मात्रामा दुध बिक्री गर्दै आएका थिए । 

यहाँ उत्पादन भएको दुध दुग्ध विकास संस्थान कैलालीले लैजाने गरेको थियो तर संस्थानले किसानबाट खरिद गरेको दुधको रकम दिन नसकेपछि किसान समस्यामा परेका हुन् । 

स्थानीय किसान जगत मडैले दुग्ध विकास संस्थानले दुध खरिद गर्नुभन्दा पहिले कैलालीको लालपुरमा रहेको खप्तड डेरीले दुध लैजाने गरेको जानकारी दिनुभयो । खप्तड डेरी नै बन्द भएपछि किसानले बेचेको दुधको करिब तीन लाख रुपियाँ पाउन बाँकी छ । यस विषयमा खप्तड डेरीका सञ्चालक रविन पन्तसँग बुझ्दा डेरी बन्द भइसकेको जानकारी दिनुभयो । डडेलधुराका १० जना किसानको रकम पाउन बाँकी छ । 

दुग्ध विकास संस्थाले खरिद गरेको दुधको पैसासमेत किसानले नपाउँदा गाई पाल्न छाडेको उहाँको भनाइ छ । आलीताल गाउँपालिका–६ का वडाध्यक्षले मष्टा दुग्ध सङ्कलन डेरी सञ्चालन गर्नुभएको छ । दुधको पैसा नपाउँदा दुध उत्पादन घट्दै गइरहेको छ । 

वडाध्यक्ष एवं दुध सङ्कलक करन बुढाका अनुसार संस्थानले नै रकम नदिएपछि किसानलाई दुधको पैसा दिन नसकिएको बताउनुभयो । उहाँले सङ्कलन गर्ने आलीताल गाउँपालिका–४, ६ र जोरायल गाउँपालिका–२ का किसानको करिब २० लाखभन्दा बढी रकम दुग्ध विकास संस्थानले दिएको छैन । किसानबाट प्रतिलिटर ४० देखि ४२ रुपियाँमा दुध खरिद गरी बजारमा भने प्रतिलिटर एक सय रुपियाँमा पुग्ने गरेको छ । किसान मडैका अनुसार एक लिटर दुधको पैसा ४२ रुपियाँभन्दा बढी कहिल्यै पाएका छैनाँै । 

नौ वर्षपहिले छ वटा समुदायबाट सुरु गरिएको उन्नत गाईभैँसीपालन अहिले आलीताल, जोगबुढाका करिब २५ समुदायमा फैलिएको छ । किसानले चितवनबाट गाई आलीताल, जोगबुढा पु-याई दुध उत्पादन गर्न थालेसँगै घरेलु, धुम्तीबजार र जोगबुढामा डेरी सञ्चालनमा आएका छन् । 

आलीताल–८ का वडाध्यक्ष धनबहादुर देउवाले दुध सङ्कलन केन्द्र स्थापनासँगै भित्री मधेशबाट उत्पादित दुध निर्यात हुन थालेको थियो । दुध निर्यातसँगै किसानले राम्रो आम्दानी गर्दै आइरहनुभएको थियो ।