• ९ साउन २०८१, बुधबार

राजधानीमा हैजा, सावधानी अपनाउन सुझाव

blog

चार जनाको आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि कल्चरका लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ । 

काठमाडौँ, साउन ९ गते । ललितपुरमा एक जना व्यक्तिमा हैजा (कोलेरा) पुष्टि भएको छ । गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवमा रहेको एक संस्थामा आश्रित १६ वर्षीय व्यक्तिमा हैजा पुष्टि भएको हो । 

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख भुवन पौडेलले ती बालकलाई हैजा पुष्टि भएको जानकारी दिँदै त्यहाँ जनस्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरी हैजा नियन्त्रण गर्न लागिएको बताउनुभयो । 

उहाँका अनुसार त्यहाँ रहेका चार जनाको आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि कल्चरका लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ । कल्चरमा समेत हैजा पुष्टि भएमा हैजा पुष्टि हुनेको सङ्ख्या बढ्ने छ ।

डा. पौडेलले बाँकी चार जनाको कल्चरको रिपोर्ट ७२ घण्टामा आउने जानकारी दिनुभयो । उहाँका अनुसार उक्त संस्थामा भएका सात जनालाई लक्षण देखिएपछि थप उपचारका लागि टेकुस्थित शुव्रmराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको छ । जनस्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीको टोलीले संस्थामा कसरी हैजा फैलियो भन्ने अनुगमन गरिरहेको छ । 

डा. पौडेलले खानेपानी या खानेकुराबाट हैजा फैलिएको हुन सक्ने अनुमान गर्नुभयो । उहाँले हैजा फैलने प्रमुख कारण पानी र खानेकुराबाहेक अरू कारण हुन नसक्ने बताउनुभयो । संस्थामा आश्रितले पानी नतताई पिएको, सागसब्जी नपखाली खाएको हुन सक्ने अनुमान गरिएको छ । शुव्रmराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पानीमार्फत दिसाको माध्यामबाट हैजा फैलने बताउनुभयो । उहाँले झाडापखाला लागेर दैनिक १० देखि १५ जना बिरामी आउन थालेको बताउनुभयो । 

सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले भिब्रियो कोरेला नामक ब्याक्टेरियाको कारण हैजा लाग्ने जानकारी दिनुभयो । उहाँले हैजा भएका मानिसको दिसामा हैजाका कीटाणु हुने बताउनुभयो । अस्पतालका निर्देशक डा. बसौलाले दुई जनालाई अस्पताल भर्ना गरेर राखिएको जानकारी दिनुहुँदै हैजा शङ्कास्पद एक जनाको आइसियुमा र हैजा पुष्टि भएका बालकको क्याबिनमा राखेर उपचार भइरहेको बताउनुभयो । उहाँका अनुसार उपचार गराइरहेका दुई जना भने सोमबार राति भागेका छन् । आकस्मिक कक्षबाट पिसाब फेर्न जाने भन्दै राति १ बजे निस्किएका उनीहरू आकस्मिक कक्षमा रहेको शौचालयको झ्यालबाट भागेका हुन् । 

पाँच वर्षमुनिकालाई पोलियो खोप अनिवार्य

काठमाडौँमा पोलियो भाइरस पुष्टि भएपछि सरकारले उपत्यकाका तीन जिल्लामा बुधबारदेखि शनिबारसम्म पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्दै छ । 

काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थलबाट गत जेठ १३ गते सङ्कलन गरिएको ढलको पानी परीक्षण गर्दा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखा परेको थियो । पोलियो भाइरस पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका तीन जिल्लामा विशेष पोलियो खोप अभियान सुरु गर्न लागेको हो । 

यो पनि पढ्नुहोस

ललितपुरका १६ वर्षीय बालकमा हैजा पुष्टि

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले पोलियो खोप अभियानमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका जन्मेदेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाइने बताउनुभयो । उहाँले नियमित खोपमा पोलियो खोप दिइएको भए पनि विशेष अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियोविरुद्धको खोप लगाउनुपर्ने बताउनुभयो । 

 स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. अभियान गौतमले काठमाडौँ, भक्तपुर र ललितपुरका जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घरमा गएर पोलियोविरुद्धको खोप दिइने जानकारी गराउनुभयो । साउन ९ देखि १२ गतेसम्म पोलियोविरुद्ध खोप अभियान सञ्चालन गर्ने भएकाले पाँच वर्षसम्मका सबै बालबालिकालाई खोप लगाउन खोप केन्द्रमा लैजानुपर्ने बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई १० वर्षअघि नै पोलियोमुक्त घोषणा गरेको थियो ।