• ९ साउन २०८१, बुधबार

बागमतीका नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण आज

blog

राममणि दाहाल

हेटौँडा, साउन ९ गते । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सीँ लामा (तामाङ) को शपथ ग्रहण आज बुधवार हुने भएको छ ।

नवनियुक्त मुख्यमन्त्री लामाको शपथ ग्रहण समारोह प्रदेश प्रमुखको कार्यालय परिसरमा आज १०ः४५ बजेबाट सुरु हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । 

नेपाली काँग्रेस संसदीय दलका नेता लामालाई बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मङ्गलबार साँझ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । सङ्घमा दुई ठुला दल काँग्रेस र नेकपा एमालेबिचको सत्ता साझेदारी अनुसार काँग्रेस र र एमालेका प्रदेश सभा सदस्यको समर्थनमा लामालाई मुख्यमन्त्री बनाउन मङ्गलबार दिउँसो प्रदेश प्रमुख शर्मा समक्ष दाबी पेस गरिएको  थियो । 

११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठुलो दल काँग्रेसको ३७ र एमालेको २७ जना प्रदेश सभा सदस्य रहेका छन् । 

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आइतबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आव्हान गर्नुभएको थियो ।

मुख्यमन्त्री जम्कट्टेल सरकारमा सहभागी एमालेले गत असार २४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उहाँ अल्पमतमा पर्नुभएको थियो । 

२०७९ पुस २५ गते एमाले, राप्रपालगायतका दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएको नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता जम्कट्टेलले यो अवधिमा प्रदेश सभाबाट तीन पटक विश्वासको मत लिनुभएको थियो ।