• ९ साउन २०८१, बुधबार

प्रसूतिगृहमा ताला

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन ९ गते  । खार्पुनाथ गाउँपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रको प्रसूतिगृहमा ताला लागेको छ । निर्माण कम्पनीले प्रसूतिगृह भवन निर्माण गरेको जग्गाको मूल्य नतिरेपछि विद्यालय व्यवस्थापन समितिकै अगुवाइमा उक्त भवनमा ताला लगाइएको हो । 

थाली गाउँमा रहेको थाली आधारभूत स्वास्थ्य केन्द्रको प्रसूतिगृहमा ताला लगाउनु परेको अध्यक्ष अङ्कर जेठाराले बताउनुभयो । वडा नं. २ थाली गाउँमा रहेको शङ्कर माध्यमिक विद्यालय व्यवस्थापन समितिले निर्णय गरेरै गाउँमै भएको प्रसूतिगृहमा ताला लगाइएको उहाँले दाबी गर्नुभयो । निर्माण कम्पनीका स्थानीय प्रतिनिधि कर रावल र विद्यालय व्यवस्थापन समितिबिच विद्यालयको खाली रहेको जग्गामा प्रसूतिगृहको भवन निर्माण गर्ने र सो भवन निर्माण गरेबापत निर्माण कम्पनी पक्षले छ लाख ५० हजार रुपियाँ विद्यालयलाई दिने सहमति भएको थियो । सम्झौता अनुसारको रकम नदिएपछि हाल सञ्चालनमा रहेको प्रसूतिगृहमा ताला लगाइएको बताउनुभयो । 

विद्यालय अभिभावक सङ्घका अध्यक्ष सङ्केश रावलको नेतृत्वमा गएको टोलीले आधारभूत स्वास्थ्य केन्द्रको प्रसूतिगृहमा ताला लगाएको हो । उहाँले सहमति अनुसारको रकम विद्यालयलाई प्राप्त भएपछि हाल लगाइएको ताला खोलिने पनि उहाँले बताउनुभयो । दुईकोठे भवनको प्रसूतिगृहमा ताला लगाउँदा प्रसूति तथा गर्भवती महिलाका लागि सेवा ठप्प भएका छन् ।