• १३ असोज २०८१, आइतबार

मुसीकोटको सहिद मैदानमा भूमे नाचको रौनक

blog

मुसीकोट नगरपालिका-१ मा भूमे नाचमा सहभागी । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, असार ५ गते । यतिबेला मगरबस्ती भूमे पर्वमय बनेका छन् । मगर समुदायको सबैभन्दा ठुलो चाड भूमे नाच अर्थात् बलपूजाको अवसरमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ खलङ्गास्थित सहिद मैदानमा पनि उल्लासपूर्ण रूपमा भूमे पर्व मनाइएको पाइन्छ । 

यहाँका मगर बस्तीमा यतिबेला भूमे नाच समापन गरिँदै छ । रुकुमपूर्वको पुथा उत्तर गंगा गाउँपालिका १२ घर भई हाल मुसीकोट नगरपालिका १ बस्दै आउनुभएकी सावित्री मगरका अनुसार हरेक वर्ष विधिपूर्वक लेकबाट बुकीको फुल टिपेर ल्याई बलपूजा सुरु हुने गर्छ । बलपुजासँगै सुरु हुने यो नाच कतै हरेक दिन त कतै शनिबारको दिन नाचिन्छ । उहाँका अनुसार स्थान अनुसार जेठ मसान्त र असार १ गतेका दिन लेकमा गएर बास बस्ने र फूल तथा रुख लिएर गाउँमा आएर धूमधाम सहित नाचगान गर्दै बलि चढाउने गरिन्छ।


समापनको दिनमा अगुवालाई सम्मान गर्ने, नाचगानमा सरिक भएकालाई दक्षिणा दिने (दान फाल्ने) चलन रहेको छ । कालो चोलीमा, रातो थोप्ला भएको कालो गुनियोलाई पटुकीले कसेर लगाएपछि बाहिरबाट मखमलको रातो घलेक अनि पछ्यौराका साथै गहना लगाएर चिटिक्क परेका महिला तथा कालो चोलीमै कालो धर्का हालेको घरबुना धरोलाई पटुकीले कसेर लगाई मखमलकै कालो घलेक लगाएर सजिएका पुरुष दमाह, ट्याम्की, छिल्लर र सहनाईको तालमा लहरै भूमे नाच नाचिन्छ ।

बलपूजा अर्थात् भूमि पूजा मगर जातिका लागि निकै महत्वको चाड भएकाले खाम मगरले यस चाडमा भूमे नाच नाचेर आपसमा सद्भाव साट्दै मनाउने गरेको स्थानीय युवा नागेन्द्र कुमार पुनले जानकारी दिनुभयो । उहाँले जेठ १ गतेबाट सुरु भएको भूमे नाच आज समापन गरिने बताउनुभयो । 

भूमे पर्वमा सबै मगरहरू सँगै भेला भएर रमाइलो गर्दा आफूहरूको दुःख पिर बिर्सने र मन खुसी हुने विश्वास छ । यस्तै मगर जातिले पृथ्वी अर्थात् भूमिलाई आफ्नो मुख्य देवताको रूपमा मानेर पुज्ने चलन रहेको छ । भूमिको पूजा भएपछि देवता खुसी हुने र त्यसपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनै पनि प्रलय नआउने र दुःखको नाश भई पृथ्वीवासी सबैमा खुसी आउने विश्वास रहेको छ ।

भूमे नाच महिला पुरुषसँगै भएर लहरै नाचिन्छ । यस नाचमा वयस्क, वृद्धवृद्धाका साथै युवा पुस्ता र बालबालिकाको पनि उत्तिकै आकर्षण रहेको छ । उनीहरू पनि साथीसँग रमाएर आफ्नो मौलिक पोसाकमा सजिएर बाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने गर्छन् ।