• १५ असार २०८१, शनिबार

विद्यार्थीको उपस्थिति बढाउन अभिभावकसँग फोन कार्यक्रम सहयोगी

blog

सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका विद्यार्थीहरु । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, जेठ १६ गते ।
जिल्लाका सामुदायीक विद्यालयले अभिभावकसँग फोन कार्यक्रम सञ्चालनमा ल्याएको छ । ती विद्यालयहरुले विद्यार्थीको उपस्थिति बढाउन अभिभावकसँग फोन कार्यक्रमलाई प्रभावकारी बनाएको हो ।

बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले विद्यालयले वार्षिक कार्ययोजनामै उल्लेख गरेर अभिभावकसँग फोन कार्यक्रम राख्दै विद्यार्थीको उपस्थिति नियमित र बढाउन निक्कै सहयोगी बनेको बताउनुभयो ।

उहाँले विद्यार्थी एक दिन विद्यालयमा उपस्थित नभएको पाइएमा अभिभावकलाई फोन सम्पर्क गर्ने र विद्यार्थी विद्यालयमा नआउने कारण खोजी गर्ने  बताउनुभयो । यो कार्यक्रमले गर्दा विद्यार्थी विद्यालयमा उपस्थित नभएको कारण सहजै पत्ता लाग्ने र अभिभावकलाई त्यसको जानकारी हुने भएकाले  घरबाट निस्केर विद्यालयमा नआउने विद्यार्थीलाई नियमित बनाउन यसले सहयोग गरेको जानकारी उहाँले दिनुभयो ।

नयाँ शैक्षिक सत्र सुरु भएपछि तीन जना विद्यार्थीहरु घरबाट विद्यालय जाने भनेर निस्कने तर विद्यालय नआउने विद्यार्थीको बानीमा सुधार ल्याउन उहाँको विद्यालय सफल भएको छ । यो कार्यक्रलाई बालमन्दिर माविले निरन्तरता दिने उहाँले बताउनुभयो ।

यसैगरी खार्पुनाथ गाउँपालिका–५ को मान्धारा माविले पनि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले केही विद्यार्थी घरबाट विद्यालय जाने भनेर निस्कने तर विद्यालय नआउने गरेको पाइएपछि अभिभावकसँग फोन सम्पर्क गर्ने कार्य भइरहेको बताउनुभयो । यो शैक्षिक सत्रमा मात्र उहाँको विद्यालयले पाँच जना यस्ता विद्यार्थीलाई नियमित गराउन सफल भएको छ ।

त्यस्तै सर्केगार्ड गाउँपालिका–२ को लालिगुराँस मावि लिप्नेका प्रधानाध्यापक कालीबहादुर महताराले यो कार्यक्रम प्रभावकारी भएका कारण यस शैक्षिक सत्रमा पनि निरन्तरता दिएको बताउनुभयो । उहाँको विद्यालयले गत शैक्षिक सत्रबाट यो कार्यक्रम सञ्चालनमा ल्याएको थियो । उहाँले यो कार्यक्रम विद्यार्थीहरुलाई नियमित गराउने राम्रो उपाय भएको कारण जिल्ला अन्य विद्यालयहरुले समेत सिको गर्न आवश्यक रहेको बताउनुभयो ।