• ३ असार २०८१, सोमबार

‘बङ्गलादेशमा एमबिबिएस र बिडिएस पढ्न नाम काटिएका विद्यार्थीले पनि पढ्न पाउने’

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ

काठमाडौँ, जेठ १४ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बङ्गलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस अध्ययनका लागि सरकारले सिफारिस गरेका विद्यार्थीहरूले पढ्न पाउने अवस्था बनेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्नुहुँदै मन्त्री श्रेष्ठले एमबिबिएस र बिडिएस पढ्न बङ्गलादेशमा सिफारिस गरिएका विद्यार्थीहरुमध्ये केहीको नाम काटिएर आएको समस्याको समाधान भएको बताउनुभएको हो ।

बङ्गलादेशले दिने २२ जनाको कोटामा सरकारले सिफारिस गरेकोमध्ये १२ जनामात्रै विद्यार्थी छानिएको भनी बङ्गलादेश सरकारले नतिजा प्रकाशित गरेको थियो । त्यसमध्ये १० जनाको नाम नतिजामा नआएपछि यस सन्दर्भमा सम्बन्धित विद्यार्थी, संसदीय समिति तथा सरकारको सरोकारवाला निकायले चासो देखाएका थिए । यस सम्बन्धमा जानकारी दिँदै मन्त्री श्रेष्ठले बाँकी रहेका १० जनामध्येका ८ जनाले पढ्न पाउने भएको जानकारी गराउनुभएको हो । अन्य दुई जनाले भने बङ्गलादेशमा आवेदन भरेको नदेखिएकाले पढ्न नपाउने उहाँले बताउनुभयो ।

‘‘२२ जनाका लागि जी टु जीको कोटा थियो । बङ्गलादेशले दिने वेब लिङ्क उहाँहरूले पब्लिकली राख्नुभएको रहेछ । दुई जनाले त्यसबाट अप्लाइ गर्नुभएको रहेनछ । हामीले सेलेक्ट गरेर पठाएकाहरू दुई जनाले एप्लाइ गर्नुभएको रहेनछ । पहिले १२ जना छानिनुभएको थियो । आठ जना अन्यले पनि पढ्न पाउने भएछन् ।’’ समिति बैठकमा बोल्नुहुँदै उहाँले भन्नुभयो, ‘‘बङ्गलादेशले हामीलाई नोट पठाएकोबाट स्पष्ट के छ, उहाँहरूले त्यो पत्रमै के लेख्नुभएको छ भने तपाईँहरूले पठाएकोमा २२ जनामा १० जना योग्य भएन । हामीले हाम्रो लिङ्कबाट जसले आवेदन गर्‍यो त्यसमार्फत लिएको हो भनेर बङ्गलादेशले स्पष्ट भनेको छ । जम्मा ३६ जनाले आवेदन गरेको रहेछ । २२ जनामध्ये २० जना हामीले छानेर पठाएका विद्यार्थी र अन्य १६ जना । १६ जनामध्ये बङ्गलादेशले हामीले यो तरिकाले छान्यौँ भनेर बङ्गलादेशले लेखेको छ ।’’

मन्त्री श्रेष्ठले एमबिबिएस दोस्रो सेमेस्टरमा ब्यारियरमा परेका विद्यार्थीहरूको सम्बन्धमा आफूले उपकुलपतिसँग कुरा गर्ने र तत्पश्चात् केही निर्णय गर्न सकिने बताउनुभयो ।