• ३ असार २०८१, सोमबार

सामाजिक अनुसन्धान विषयक तालिम सम्पन्न

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १२ गते । मदन भण्डारी मेमोरियल कलेजद्वारा सामाजिक अनुसन्धानु विषयमा आयोजित ३ दिने तालिम शनिवार सम्पन्न भएको छ । कलेज अन्तर्गत विभिन्न संकायका शिक्षक तथा कर्मचारीका लागि सो तालिम आयोजना गरिएको थियो । 

विभिन्न विधामा अध्ययन सामग्रीको जर्नल ुश्वेत शार्दूल प्रकाशित गर्दै आएको कलेजले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा जेठ १० देखि १२ गतेसम्म नयाँ बानेश्वरस्थित सभाहलमा सञ्चालन गरिएको थियो ।  

कलेज प्रमुख डा. बाबुराम अधिकारीले मदन भण्डारी कलेज अन्तर्गत विभिन्न संकायका सदस्यलाई अनुसन्धानमूलक काममा थप दक्ष बनाउँदै लैजाने उद्देश्यसाथ तालिम आयोजना गरिएको बताउनुभयो ।  

शनिवार तालिमको समापन गर्नुहुँदै डा. अधिकारीले कलेजको उद्देश्य पूरा भएकोमा खुसी व्यक्त गर्दै विश्वविद्यालय अनुदान आयोग, श्रोतव्यक्ति, कलेजका कर्मचारी तथा सहभागी शिक्षकहरू सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

सो तालिमको उद्‌घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीले गर्नुभएको थियो । उक्त अवसरमा उहाँले विश्वविद्यालय अन्तर्गतका आङ्गिक कलेजहरूमा अनुसन्धान गर्ने र प्रकाशन गर्ने परिपाटीमा कमी देखिएको र त्यसको विकासका लागि आयोगले अनुदानको व्यवस्था गर्दैआएको बताउनुभयो ।   

उद्‌घाटनसत्रका अध्यक्ष एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले तालिम पश्चात मदन भण्डारी कलेजका सहभागीले अन्य कलेजद्वारा भविष्यमा आयोजना हुने तालिममा श्रोतव्यक्तिका रूपमा काम गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । पूर्व परराष्ट्रमन्त्री समेत रहनु भएका पाण्डेले  अध्ययन अनुसन्धान मानिसको लागि कहिल्यै अन्त्य नहुने प्रक्रिया भएको धारणा राख्नुभयो । 

तालिममा प्राध्यापक डा. प्रेमसागर चापागाइँ, योगेन्द्र गुरूङ, ध्रुव कार्की, ताराप्रसाद भुषाल र विनोद पोखरेल त्यसैगरी, डा. भीमलाल गौतम र डा. अञ्जय मिश्रले सहजिकरण गर्नुभएको थियो ।