• ११ मंसिर २०८१, मङ्गलबार

सकारात्मक सोच

blog

हिउँ परेसम्म, बङ्गालको खाडीबाट निस्कने मनसुन ऋतु–चक्र भित्रिएसम्म हाम्रा नदीनाला बगिरहन्छन् । अनि हामीले जल सम्पदामा धनी हुने सौभाग्य पाइरहन्छौँ । हामीले नजान्दा यी पानी पानी मात्रै भएका छन् । त्यसै खेर गइरहेका छन् । 

मान्छे जिज्ञासु हुनाले अरू प्राणीभन्दा फरक छ । त्यही स्वभावले गर्दा नै अहिलेको उन्नति र प्रगति सम्भव भएको हो । चेतनाको विकाससँगै उसले गरेका यावत् वैज्ञानिक आविष्कार र भौतिक उन्नति–प्रगतिको परिणाम मानिस नेपालमा खाना खाएर अमेरिकामा चुठ्न पुग्न सक्ने भएको छ । अझै बेलायतमा निदाएर चीनमा उठ्न पुग्ने हुनुको प्रमुख कारण त्यही जिज्ञासु स्वभाव, वस्तुनिष्ठ सही दर्शनको बोध र आधुनिक वैज्ञानिक चेतनाको द्योतक हो भन्दा फरक पर्दैन होला ।

वास्तवमा भन्ने हो भने मानिसको जिज्ञासु स्वभाव र वैज्ञानिक चेतनाले गर्दा नै आजको विकास सम्भव भएको छ तर त्यो स्वभावलाई जोख्न र तौलन सक्ने कुनै प्रणालीको ढकतराजु चाहिँ मान्छेले आविष्कार गर्न सकेको छैन । विभिन्न नीति नियम र कानुनी दायराभित्र राखेर व्यक्ति र समाजको व्यवहार, चालचलन र आनीबानीमा परिवर्तन ल्याउन सक्ने सकारात्मक सोच, विचार, सिद्धान्त नै सही दर्शन हो भन्दा अतियुक्ति नहोला ।

कुरा सही दर्शनकै हो । सही भनेको साँचो भनौँ वा सत्य भनौँ अथवा ठिक भन्ने सन्दर्भमा पनि बुझ्न सकिन्छ । दर्शन भनेको विचार र सिद्धान्त हो । अझै एक कदम अगाडि बढेर भन्नु पर्दा प्रत्येक वस्तुलाई हेर्ने मान्छेको आआफ्नो दृष्टिकोण हुन्छ । यही दृष्टिकोणका आधारमा विचार तयार हुन्छ । दृष्टिकोण मान्छे अनुसार फरक फरक हुन्छ । कुनै ठिक हुन सक्छन् । 

कुनै बेठिक हुन सक्छन् । एउटा यथार्थ चाहिँ के हो भने ठिक हुनका लागि बेठिक चाहिन्छ र बेठिक हुनका लागि त्योभन्दा अगाडि ठिक चाहिन्छ । कल्पना गर्नुस् त राम्रो हुनका लागि नराम्रो नै छैन भने कसरी राम्रो हुन सकिन्छ ? भन्नुको मतलब काम गर्दा प्रतिव्रिmया आउनु स्वाभाविक हो तर त्यसलाई पर्गेल्ने सही दर्शनको अभाव भने खड्किन नदिई अगाडि बढ्ने हो भने जुनसुकै काम पनि सम्भव छ । काम गर्दा प्रतिव्रिmया आउँछ भनेर डराउनु हुँदैन । डराउन आवश्यक पनि छैन । परापूर्वकालका मान्छेलाई पानीको नियम थाहा थिएन । त्यो बगेर खेर जान्थ्यो । बाढीपहिरो आएर गाउँबस्ती बगाई दिन्थ्यो । समतल फाँटहरू जलमग्न भएर धनजनको ठुलो क्षति हुन्थ्यो । बर्खा लागेपछि सधैँ त्यही अवस्था बेहोर्नु पर्दा विक्षिप्त भएर उसले धारेहात लगाउँदै नानाथरी सराप्थ्यो । खोलाको पानीलाई विनाशकारी संज्ञा भिराइन्थ्यो । “थुक्क साउने झरी कति बर्सेको नि !’ भनी गाली गर्ने परम्परा नेपाली समाजमा नै थियो ।

आज आएर मान्छेले पानीको नियम बुझ्यो । त्यसको चामत्कारिक शक्ति पत्ता लगायो । बगेर खेर जाने पानीलाई बाँध बाँधेर बाइरोडको बाटोमा गाडी कुदाए झैँ नहर बनाएर पहाडै पहाड बगायो । पल्लाघरे जेठा दाजुको डाँडाखेतको उब्जनी बढायो । डोकोमा घैला बोकेर पानी लिन जाँदा हैरान भएकालाई सुविधा दियो । घरघरमा धारो आइपुग्यो । अन्ततः खोलाको पानी देखेर कसरी तर्ने होला भनी भुटभुटिने मान्छेले विद्युत् ऊर्जा निकाल्न सक्यो । समुद्रमा पिल्लर ठड्याएर विमानस्थल बनाउन थाल्यो । पानीलाई ऊर्जा शक्तिमा रूपान्तरण गरी तारतारमा कुदाउँदै घरघरमा पु¥यायो । अँध्यारोमा छामछाम छुमछुम गर्दै झुलो–चकमक खोज्ने हजुरबा–हजुरआमाहरूलाई पुसमाघको ठण्डीमा हिटरको स्विच अन गर गर भन्दै हिटर ताप्ने रहर जगायो । कलकारखानालाई चलायमान गराउने ऊर्जा बनेर आयो । कला–साधकको घरमा उज्यालो बत्ती बनेर मात्र होइन, गीतकारको झङ्कार बन्यो । क्यासिनोको स्वर उराल्न पुग्यो । बगेर खेरजाने पानी आखिरमा बरदान साबित भयो ।

यो सबको परिणाम तपाईं मान्नुहोस् नमान्नुहोस्, मान्छेले प्रतिपादन गरेको सही दर्शन र विचारले गर्दा नै हो । यसरी के स्पष्ट हुन्छ भने कुनै पनि वस्तुलाई मान्छेले प्रयोग गर्न जान्यो र सकारात्मक सोचले हेर्यो भने नराम्रो वस्तु पनि राम्रो हुन्छ तर दृष्टिकोण नै नकारात्मक भएको मान्छेले राम्रो वस्तु नै प्रयोग गर्दै छ भने नराम्रो नै देख्छ । अनि बहस गर्नुको सट्टा कुतर्क गर्दै विरोध गर्न थाल्छ । उदाहरणका लागि अमृतलाई नै लिऊँ । सकारात्मक सोच विचार भएकाहरूले अमृतका बारेमा के भन्लान् भने यो पदार्थ धेरै खायो भने मिठो हुन्छ, अनन्त कालसम्म जिउन सकिन्छ । आहान अनुसार यसको सेवनले मान्छेको मृत्यु हुन्न रे भन्दै अनेक सकारात्मक कुरा भन्ला । त्यस्तै नकारात्मक सोच भएको मान्छेले त्यही अमृतलाई ठिक विपरीत देख्छ र भन्छ– आयो अमृत भन्ने अनन्त कालसम्म बचाउने पदार्थ नै छैन, मानौँ भए पनि धेरै खायो भने तितो हुन्छ, अनन्त कालसम्म बाँचेर दुःख बेसाउनुभन्दा चाँडै देहत्याग गरेको नै राम्रो, सधैँ बाचिरहेर दुःख बेसाउन आवश्यक छैन । यसरी नानाथरीका नकारात्मक बहानाबाजी अगाडि सारेर अमृत जस्तो पदार्थको पनि विरोध मात्र गरिरहन्छ ।

हुन त प्रत्येक वस्तुमा राम्रो र नाम्रोबिच द्वन्द्व चलिरहेको नै हुन्छ तर त्यसलाई मूल्याङ्कन गरी राम्रो र नराम्रो वस्तुका बिच औसतमा कुनमा गुण बढी छ भनेर छुट्याउन सकारात्मक सोच र सही दर्शन चाहिन्छ । नकारात्मक सोचको अडेस लागेर गरिने कार्यको परिणाम सकारात्मक हुनै सक्दैन । त्यो अडेस खुस्कने बित्तिकै परिणाम पनि यसै हुन्छ भन्न सकिन्न ।

सकारात्मक सोच राखेर ‘सबै मिलेर देश बनाउने हो’ भनेर लाग्ने हो भने यहाँ हिमाली मुहान र अटुट जलाधारका दर्जनौँ नदीनाला छन् । तिनीहरू हिउँ परेसम्म, बङ्गालको खाडीबाट निस्कने मनसुन ऋतु–चक्र अनुसार भित्रिएसम्म बगिरहन्छन् । अनि हामीले जल सम्पदामा धनी हुने सौभाग्य पाइरहन्छौँ । 

हामीले नजान्दा यी पानी पानी मात्रै भएका छन् । त्यसै खेर गइरहेका छन् । जान्यो भने यी पानी पानी मात्र होइन, सेतो सुन हो, हाम्रो प्राण हो, बोटबिरुवाको त्राण हो र कारखानाको इन्धन होे । यस्तै सकारात्मक सोच राखेर पानीको उपयोगिता बुझेर विकास गर्न सकेमा नेपाल र नेपालीको जीवन उज्ज्वल हुने निश्चित छ ।

Author

लक्ष्मीप्रसाद कोइराला