• ३ असार २०८१, सोमबार

रानाथारू सङ्ग्रहालय

blog

धनगढी समाचारदाता

धनगढी, जेठ १२ गते । कैलालीको धनगढी उपमहानगरपालिका–१३, राजपुरमा रानाथारू सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिएको छ । कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका आदिवासी जनजाति रानाथारूको कला तथा संस्कृतिको संरक्षण एवं प्रदर्शनी गर्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको हो । 

सङ्ग्रहालय निर्माणको काम गत वर्ष सकिएको धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्ग्रहालय निर्माणको काम पूरा भए पनि उपमहानगरपालिकालाई हस्तान्तरण गर्न भने सकेको छैन । यो सङ्ग्रहालयलाई कुन ‘मोडालिटी’ मा सञ्चालन गर्ने भन्ने टुङ्गो नलागेकाले हस्तान्तरण हुन नसकेको उहाँले बताउनुभयो । “निर्माणको काम सकिइसकेको छ,”  इन्जिनियर भट्टले भन्नुभयो, “सञ्चालनको मोडालिटीमा निर्णय हुन नसक्दा हस्तान्तरण भने भइसकेको छैन ।”

सङ्घीय सरकार र उपमहानगरपालिकाको संयुक्त लगानीमा आधुनिक सङ्ग्रहालय निर्माण गरिएको हो । ठेकेदार पिएस कन्स्ट्रक्सन प्रालिले निर्माणको सबै काम पूरा गरिसकेको वडा नम्बर १३ का वडा सदस्य हिरालाल रानाथारूले बताउनुभयो ।

सङ्ग्रहालयमा रानाथारू समुदायको मौलिक पहिचान, संस्कृति, संस्कार झल्काउने कुरा, खानपानको परिकार, नाचगानलगायत राखिने रानाथारू सांस्कृतिक सङ्ग्रहालय निर्माण समितिका अध्यक्ष नारायण रानाले बताउनुभयो । एक बिघा सात कट्ठा जमिनमा सङ्ग्रहालय बनेको छ ।