• २ असार २०८१, आइतबार

सामुदायिक क्याम्पस गाभ्नुपर्छः मुख्यमन्त्री जम्कट्टेल

blog

राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल । तस्बिरः अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, जेठ ११ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका सामुदायिक क्याम्पसहरूलाई एकआपसमा गाभेर (मर्जर) गर्नुपर्ने बताउनुभएको छ । “उच्च शिक्षामा चुनौतीः रोजगारी, स्थिरता र बिचमै पढाइ छोड्ने प्रवृत्तिलाई न्यूनीकरण’’ सम्बन्धी शुक्रबारदेखि हेटौँडामा सुरु भएको राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले सामुदायिक क्याम्पस पीडा र समस्यामा रहेको बताउनुभयो ।

सामुदायिक क्याम्पसले ग्रामीण क्षेत्रमा उच्च शिक्षामा धेरै योगदान गरेको बताउनुहुँदै समय बदलिएसँगै समुदायमा रहेका सामुदायिक क्याम्पसहरु गाम्भुपर्नेमा जोड दिनुभयो । विद्यार्थीहरू शहर र विदेश केन्द्रित हुँदा क्याम्पसमा घट्दो विद्यार्थीका कारण शिक्षकलाई तलब खुवाउन समेत समस्या भइरहेको उहाँले बताउनुहुँदै ग्रामीण क्षेत्रमा आवासीय मोडेलमा एक वडा एक विद्यालयको अवधारणामा प्रदेश सरकार जान लागेको जानकारी दिनुभयो ।

माध्यामिक तहको शिक्षाका लागि स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढ्दै कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा हुनुपर्ने उहाँको भनाइ छ । उहाँले नर्सिङ, इन्जिनियरिङ शिक्षा अहिलेको आवश्यकता रहेको औँल्याउनुभयो ।

‘‘शिक्षा नितान्त सैद्धान्तिक मात्रै भयो, अब व्यवहारिक, प्राविधिक र जीवनाेपयोगी शिक्षाको आवश्यकता छ,’’ मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । उच्च शिक्षा अध्ययनपश्चात् व्यावहारिक र प्राविधिक शिक्षा नहुँदा बेरोजगार मात्रै उत्पादन भइरहेको र उनीहरु विदेशी जाने क्रम बढेकाले अब समाधान दिनेखालकाे शिक्षाको संरचना आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले पाठ्यक्रम पुरानै ढाँचाको रहेकाले अब पाठ्यक्रम र परीक्षा प्रणाली परिवर्तन आवश्यक रहेको औंल्याउनुहुँदै परीक्षा प्रणालीलाई पूर्णरुपमा योग्यताक्रम (मेरिड)मा लैजानुपर्ने बताउनुभयो । उहाँले प्राविधिक शिक्षामा रहेको कोटा प्रणालीलाई शिक्षामा सिण्डिकेटको संज्ञा दिनुहुँदै सरकारले कोटा प्रणाली हटाउनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ विषयका साथ विद्यार्थी स्वदेशमै टिकाउनेगरी विश्वविद्यालय स्थापना हुनुपर्ने बताउनुभयो । उहाँले विदेश जाने युवालाई रोक्ने शिक्षा आजको आवश्यकता रहेकाले सरकारले त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मुक्तान, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ, मध्यपश्चिम विश्वविद्यालयका उपकुल प्रा.डा. ध्रुवकुमार गौतम, विज्ञ सल्लाहकार विश्वविद्यालय अनुदान आयोगका प्रा.डा. हृदयरत्न बज्राचार्य तथा मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशी, हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामालगायतले शैक्षिक सुधार गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो । उद्घाटन कार्यक्रम मकवानपुर बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको सभाध्यक्षतामा भएको थियो ।