• १३ असोज २०८१, आइतबार

प्राथमिक तहमै विद्यालय छाड्छन् बालबालिका

blog

वीरेन्द्रनगर नगरपालिका–११, बालुवाटारका दलित बालबालिका अभिभावकसँग । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, जेठ २ गते । वीरेन्द्रनगर नगरपालिका–११, बालुवाटारकी ४२ वर्षीय बुद्धिसरा बैगारका पाँच छोरी र दुई छोरा गरी सात सन्तान छन्। उनीहरूमध्ये कसैले पनि माध्यमिक तहसम्मको पढाइ पूरा गरेका छैनन् । शिव माध्यमिक विद्यालय धुलियाबिटबाट आधारभूत तहसम्म पढेका बुद्धिसराका सन्तानले त्यसपछि पढाइ नै छाडे । सबै छोरीको विवाह भइसकेको छ भने दुई वटा छोरा रोजगारीका लागि भारत गएका छन् । 

बालुवाटारमा अहिले २७ घरधुरी बसोबास गर्छन्। यहाँ बसोबास गर्ने अधिकांश बादी समुदायका बालबालिकाले प्राथमिक तहमै पढाइ छाड्ने गरेको पाइएको छ । उमेर नपुग्दै बालिकाको विवाह गरिदिने र बालकहरू कम उमेरमै रोजगारीका लागि बिदेसिने गरेका छन् । पढाइ छोडेर ज्याला मजदुरीका लागि भारत जाने गरेका छन् । गरिबीका कारण पढाइ पूरा गर्न समस्या हुने गरेको स्थानीय रत्ना बादीले बताउनुभयो । उहाँले भन्नुभयो, “घरखर्च टार्नकै लागि मजदुरी गर्न भारतमा जानुपर्ने बाध्यता छ । रोजगारी पाइँदैन । खोलामा गिट्टी बालुवा सङ्कलन गर्ने काम पनि ठप्प छ।” 

यो समुदायको आर्थिक अवस्था कमजोर हुनु, परिवारकै भूमिका बलियो नहुनु, सचेतनाको कमीलगायतले बिचमै पढाइ छोड्ने दर बढेको शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतका प्रमुख महेशदत्त देवकोटाले बताउनुभयो ।

स्थानीय टीका गन्धर्वले आर्थिक अभावका कारण आफ्ना छोराछोरी शिक्षाबाट वञ्चित भइरहेको बताउनुभयो। बालबालिका दिनभर खोलामा खेलेर बस्ने गरेको भन्दै उहाँले आयस्रोत नहुँदा पठनपाठनमा समस्या भएको जनाउनुभयो । दशकौँदेखि बस्दै आएको जग्गा जमिनसमेत आफ्नो नाममा नहुँदा आधारभूत सेवा लिनबाट पनि वञ्चित भइरहेको उहाँको भनाइ छ ।

बालुवाटारका २७ परिवार बादी समुदायलाई एउटै खालका समस्या छन्। दिनभर ज्याला मजदुरी गरे पनि बेलुकाको खाना जुटाउन नै समस्या हुने गरेको हिरा बैगारले बताउनुभयो । पढ्न थालेका बालबालिका पनि बिचमै पढाइ छोड्न बाध्य भएको बैगारको भनाइ छ। 

आर्थिक अवस्था कमजोर भएकै कारण उच्च शिक्षाको पढाइबाट बालबालिका वञ्चित हुनु परिरहेको छ। केही सङ्घ/संस्थाले पढाइमा सहयोग गर्ने आश्वासन दिए पनि त्यसलाई पूरा गर्न नसकेको बादी समुदायको गुनासो छ ।

बालुवाटार बस्तीनजिक विद्यालय छैन। जङ्गलको बाटो भएर धुलियाबिटको शिव माध्यमिक विद्यालयमा पुग्नु पर्छ। दैनिक एक घण्टा विद्यालय आउजाउमै लाग्छ । टाढा भएकै कारण यो बस्तीका अधिकांश बालबालिका नियमित विद्यालय जाँदैनन् । यो बस्तीमा ५ देखि ८ कक्षा नपुग्दै विद्यालय छाड्ने बालबालिका धेरै छन् । आर्थिक अवस्था र विद्यालयनजिक नहुँदा बालबालिकाले विद्यालय छाड्ने गरेको अभिभावक बताउँछन् ।