गत चैत–वैशाखको समयमा देशको वायुमण्डलीय अवस्था प्रदूषित तथा तुवाँलोयुक्त बन्यो। काठमाडौँ संसारको सबैभन्दा प्रदूषित सहर बन्यो। पोखरा, विराटनगरलगायत सहरहरू अत्यधिक प्रदूषित बने। जङ्गलमा लागेको आगो निभाउने क्रममा मानिसको मृत्यु पनि भयो। तापक्रम अत्यधिक रूपमा बढ्यो । तराई क्षेत्रमा तापक्रम ४० डिग्रीभन्दा बढी पुग्यो । उक्त तापक्रमले वातावरणलाई अत्यधिक तातो बनायो । बस्ती क्षेत्रमा पनि आगलागी भए । एकातर्फ प्रि–मनसुनको बेला औसत अनुसारको वर्षा हुन सकेन । अहिले केही पानी परेको छ । पानी पर्न रोकिनासाथ जेठमा यो समस्या निम्तिन सक्छ । विभिन्न उपाय अवलम्बन गरेर डढेलो नियन्त्रणमा लिन सकिन्छ । सरकारी तथा अन्य सरोकारवालाले डढेलो नियन्त्रणका लागि सबभन्दा पहिले सावधानी अपनाउनु पर्छ । मूलतः सावधानीमा सरोकारवालालाई वनको महत्व र यसको सुरक्षासम्बन्धी तालिम दिइन्छ । डढेलोबारे सूचना प्रदान गरिन्छ । यसको नियन्त्रण कसरी गर्ने भनेर सर्वसाधारणसम्म जानकारी दिइन्छ । सैद्धान्तिक रूपमा यो पहिलो प्रयास हो । यो विधि अपनाएर मानवीय त्रुटिले हुने डढेलोलाई धेरै मात्रामा नियन्त्रण गर्न सकिन्छ।
सावधानी अपनाउँदा अपनाउँदै पनि यदि आगलागी वा डढेलो लागिहालेमा डढेलोसँग जुध्नका लागि तयारी अबस्थामा रहनु पर्छ। सैद्धान्तिक रूपमा डढेलो नियन्त्रणमा यो दोस्रो चरण हो। सरोकारवालालाई स्रोत, सिप र अनुभवको तालिम दिएर तयारीको अवस्थामा राख्नु पर्छ। सामुदायिक वनको कर्मचारी र सदस्य, वन क्षेत्रका मानिस र सुरक्षा संयन्त्र डढेलो लागिहालेमा निभाउन वा फैलन नदिनका लागि तयारी अवस्थामा रहनु पर्छ । डढेलो नियन्त्रणका लागि अर्को चरणमा सम्भावित डढेलो लाग्ने क्षेत्रको पहिचान गर्नु पर्छ । त्यस्तो क्षेत्रमा यन्त्र र दक्ष जनशक्तिको व्यवस्था गर्नु पर्छ ।
अर्को चरण नियन्त्रणमा लिनु वा निभाउनु वा धेरै फैलिनु नदिनु हो। जब आगलागी हुन्छ वा डढेलो फैलिन खोजेको हुन्छ, त्यतिबेला आगोलाई निभाई थप फैलिन दिनु हुँदैन। तयारी अवस्थामा राखिएको जनशक्ति तथा अन्य स्रोतको माध्यमबाट आगोलाई थप फैलिन दिनु हुँदैन। यसका लागि पानी, माटो वा कार्बनडाइअक्साइड ग्यासको प्रयोग गर्न सकिन्छ । वनमा उपलब्ध हुने स्याउला, हरियो झारको प्रयोग पनि गर्न सकिन्छ । अन्य मेसिनरी औजार पनि आगो निभाउन प्रयोग गर्न सकिन्छ । आगलागी वा डढेलोपछि पीडितलाई क्षतिपूर्ति दिनु पर्छ ।
डढेलो लागेपछि वन क्षेत्र खाली र उजाड बन्छ। उजाड क्षेत्रमा पुनरुत्थान गर्नका लागि निश्चित कार्य योजना बनाई काम गर्नु पर्छ। यसरी पुनरुत्थान गरेको वन क्षेत्रलाई व्यवस्थित रूपमा हुर्काउने र पहिलेकै अवस्थामा ल्याउनु पर्छ। डढेलोले वनसँगै वनस्पति, जङ्गली जनावरलाई पनि प्रत्यक्ष असर पु¥याउँछ । साथै स्थानीय पारिस्थितिक प्राणालीलाई पनि प्रभाव पारी तत्तत् क्षेत्रको पुनरुत्थान योजना बनाई काम गर्नु पर्छ । यसरी काम गर्न सकियो भने विस्थापित भएका जीवजन्तु तथा वनस्पतिलाई पहिलेकै अवस्थामा पुर्याउन सकिन्छ र पारिस्थितिक प्रणालीलाई कायम राख्न सकिन्छ ।
यसपालि पनि देशको धेरै क्षेत्रमा डढेलो लाग्यो। यीमध्ये दुई तिहाइभन्दा बढी डढेलोका कारण केवल मानवीय नै हो भनिएको छ। त्यसैले हरेक मानिसले आफ्नो बानीलाई सुधार गरेमा र वन क्षेत्रमा आगोको स्रोत नफालेमा डढेलोबाट हुने ठुलो क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ। पहिलो त डढेलो लाग्न नै दिनु हुँदैन । यदि डढेलो लागिहालेमा स्थानीयवासी मिलेर निभाउनु पर्छ । डढेलो नियन्त्रणमा पनि निम्न उपाय अपनाउन सकिन्छ :
सामान्यतया गर्मीयाममा क्याम्प फायरसहित खुला रूपमा आगो बालेर गरिने मनोरञ्जनलाई सकेसम्म निषेध वा निरुत्साहित गर्नु पर्छ। यदि त्यस्तो गरिएको खण्डमा आगोलाई राम्रोसँग निभाउनु पर्छ। ग्रामीण क्षेत्र तथा वन क्षेत्रको नजिक भण्डारण गरिएका प्रज्वलनशील वस्तुलाई आगोबाट वा आगोको स्रोतबाट सकेसम्म टाढा राख्नु पर्छ । घरआँगनमा आगो बाल्दा न्यूनतम रूपमा आगो वा आगोको स्रोतबाट १० फिट व्यास सर्कलभित्र पात, काठका टुक्रा र घाँस वा तत्काल आगो समात्ने वस्तुलाई हटाउनु पर्छ ।
आगलागी भइहालेमा फायर फाइटिङ उपकरण तथा दमकललाई यथास्थानमा चुस्तदुरुस्त राख्नु पर्छ। कहीँकतै आगलागी वा डढेलो लागेको खण्डमा तत्काल निभाउन जान सक्ने गरी यी उपकरणको व्यवस्था गर्नु पर्छ। वन क्षेत्रमा ठाउँठाउँमा पोखरी निर्माण गर्नु पर्छ। यसले डढेलो लागी हालेमा नियन्त्रण गर्न सहज हुन्छ । त्यसैले सामुदायिक, सरकारी तथा निजी वन क्षेत्रमा पोखरी निर्माण गर्ने अभियान सुरु गरिहाल्नु पर्छ ।
यदि वन क्षेत्र अलिक घना छ र कहीँ कतै डढेलो लागी हालेमा नियन्त्रण गर्न गाह्रो हुने भएमा अनिवार्य रूपमा वन क्षेत्रभित्र अग्निरेखा निर्माण गरी उक्त अग्निरेखालाई सधैँ सफा राख्नु पर्छ। यसले आगोलाई फैलिन रोक्छ। आगोको उपयोगितासँगै जोखिम पनि अत्यधिक छ। त्यसैले आगो र आगोका स्रोतमाथि चनाखो रहनु पर्छ । केटाकेटीको पहुँचभन्दा बाहिर राख्नु पर्छ । घरबाहिर आगो बाल्नु हुँदैन । बाल्नु नै परे हावा नचलेको समयमा मात्रै बाल्नु पर्छ । आगो बालिसकेपछि आगोलाई राम्रोसँग पानी वा माटोले छोपेर मात्र छड्नु पर्छ । कसैले डढेलो लगाउने उद्देश्यले वन क्षेत्रमा आगो बाली छोडेको भेटिएमा तुरुन्त सुरक्षा संयन्त्रलाई खबर गर्नु पर्छ ।
डढेलो एक प्रकारको बिपत्ति हो। त्यसैले आगोलाई सुरक्षित तरिकाले प्रयोग गर्नाले मात्र डढेलोबाट हुने क्षतिबाट बच्न सकिन्छ। अन्यथा डढेलोले धेरै क्षति पुर्याउँछ। वनलाई डढेलोबाट बचाउन के कस्तो योजना चाहिन्छ, निर्माण गरी सबैले कार्यान्वयन गर्नु पर्छ। यो एकल पहलबाट नियन्त्रणमा आउने विषय होइन । सहकार्यबाट मात्र यसबाट हुने क्षतिलाई रोक्न सकिन्छ । डढेलो लगाउनु सामाजिक अपराध हो भने निभाउनु सामाजिक दायित्व हो ।