• ११ मंसिर २०८१, मङ्गलबार

गति लिएन बड्डीचौर–खम्बागाडे सडकले

blog

बुलबुले समाचारदाता

सुर्खेत, वैशाख ३० गते । मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे खण्डको कामले गति लिन सकेको छैन । समयमै निर्माण नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । आधा मात्रै काम भएको सडकले आमनागरिकलाई थप सास्ती दिएको हो । 

हालसम्म उक्त सडकखण्डको २० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । वित्तीय प्रगति १४ प्रतिशत हासिल भएको छ । साढे १२ किलोमिटरमा सडकखण्डका लागि प्रदेश सरकारले ४२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रुपियाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो । २०७९ देखि काम सुरु भएको थियो । 

२०८१ असार १५ सम्म काम सम्पन्न गर्नुपर्ने छ । हालसम्म कामको प्रगति निकै न्यून छ । सम्झौता अवधि सकिन करिब डेढ महिना बाँकी रहँदा ८० प्रतिशत काम गर्न बाँकी नै छ । अहिलेसम्म पाँच करोड ९२ लाख बजेट मात्र खर्च भएको छ ।

हाल उक्त खण्डमा नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम भइरहेको पूर्वाधार विकास निर्देशनालयका प्रमुख रामशरण आचार्यले बताउनुभयो । उहाँका अनुसार लक्ष्य अनुसार काम अघि बढ्न सकेको छैन । यो सडकखण्डमा सात किलोमिटर जङ्गल क्षेत्र परेको छ । रुख कटानको अनुमति नआएकाले उक्त क्षेत्रमा काम गर्न नसकिएको जनाइएको छ । सडकको वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

यसैबिच कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बड्डीचौर–खम्बागाडे सडक विस्तार कार्यलाई छिटो गरी काम अगाडि बढाउन ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा भएको सर्वपक्षीय बैठकमा उहाँले ठेकेदारले प्रत्येक महिना लक्ष्य अनुसार काम गर्नुपर्ने बताउनुभयो । समयमै सडक निर्माण नहुँदा स्थानीयले सास्ती पाइरहेको भन्दै बड्डीचौर–खम्बागाडे सडक तत्काल मर्मतसम्भार गरी सहज रूपमा गाडी आउजाउ हुने वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो । सडक निर्माण गरिरहँदा मर्मतसम्भार गर्ने र सडकमा सहज आवागमन व्यवस्था मिलाउने सर्त ठेक्कामा रहेकाले अहिले ठेकेदारले गरिरहेको व्यवहार सम्झौताविपरीत रहेको भन्दै सम्झौताका सर्त पालना गर्न निर्देशनसमेत दिनुभएको छ । 

बाटोमा जथाभाबी निर्माण सामग्री राख्ने, काममा ढिलासुस्ती गर्ने, निर्माण कार्यसमेत गतिमा हुन नसकिरहेको उहाँले बताउनुभयो । ठेकेदारलाई रकम निकासमा समस्या नरहेको, निर्माण सामग्रीको अभाव नरहेको अवस्थामा सडक निर्माणको काममा किन प्रगति भएन भन्ने कुरालाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको उहाँको भनाइ छ ।