• ७ जेठ २०८१, सोमबार

चीनद्वारा खाद्यान्न सहयोग

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख २६ गते । छिमेकी राष्ट्र चीनले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई खाद्यान्न र सोलार सहयोग गरेको छ । चीनले सीमा जोडिएको जिल्लाका स्थानीय तहलाई उपलब्ध गराउने सहयोग अन्तर्गत सो सहयोग गरेको हो । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले चीन सरकारले गाउँपालिकाका लागि खाद्यान्न र सोलार सहयोग गरेको बताउनुभयो । उहाँले चीनद्वारा सिमा जोडिएका जिल्लाका स्थानीय तहलाई गर्ने सहयोग अन्तर्गत यो सहयोग उपलब्ध भएको जानकारी दिनुभयो । उहाँले चीनले हिल्सामा उपलब्ध गराएको खाद्यान्न र सोलारलाई गाउँपालिकाले सबै वडामा वितरण गरेको बताउनुभयो । 

चीनबाट प्राप्त खाद्यान्न सहयोगमा २५ केजीका एक हजार बोरा चामल, २५ केजीकै एक हजार बोरा मैदा, २५ केजीकै एक हजार बोरा चिनी, १० केजीको एक हजार प्याकेट नुन र २५० कार्टुन तेल रहेको छ । प्राप्त खाद्यान्न वडा नं. १ देखि ५ का स्थानीय बासिन्दालाई एक/एक बोरा चामल, मैदा, चिनी, १० केजी नुन र पाँच लिटर तेल वितरण गरिएको छ । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका लागि वडाध्यक्षको जिम्मा लगाइएको र लिमी जाने बाटो खुलेपछि वितरण गरिने छ । उक्त गाउँपालिकाभरि ९३८ घरधुरी छन् । त्यसै गरी पाँच केजीको सोलार दुई स्थान र दुई केभीको सोलार ४० स्थानका लागि उपलब्ध भएको उहाँले बताउनुभयो । चीन सरकारले खाद्यान्न तथा सोलार सहयोग गरेकोमा उहाँले गाउँपालिकाका तर्फबाट धन्यवादसमेत दिनुभयो । लामो समय खाद्यान्न वितरण हुन नसकेको नाम्खा गाउँपालिकाका बासिन्दालाई यो सहयोगले राहत पुगेको छ ।