• ११ जेठ २०८१, शुक्रबार

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

blog

अक्सिजनको मात्रा घटेपछि लक्ष्मीलाई हेलिकोप्टरमार्फत् सुर्खेत लगिदै । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, वैशाख २२ गते । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–४ कि २० वर्षीया लक्ष्मी शाहीलाई सुत्केरी भएको १३ दिनपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । 

सुत्केरी भएदेखि लगातार शरीर सुनिँदै गएको र केही दिन यता रक्तस्राव पनि हुन थालेपछि लक्ष्मीलाई उपचारका लागि जिल्ला अस्पताल कालीकोट ल्याइएको थियो । जिल्ला अस्पतालमा पनि अक्सिजनको मात्रा बढाउन र रक्तस्राव रोक्न नसकिएपछि थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ । 

जिल्ला अस्पताल कालीकोटका डा. बन्दिता कार्कीले गाउँमै गत वैशाख ८ गते सुत्केरी भएकी लक्ष्मीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि शुक्रबार जिल्ला अस्पताल मान्म ल्याइए पनि सुधार हुन सक्ने अवस्था नभएपछि रिफर गरिएको जानकारी दिनुभयो । 

सुत्केरी शाहीको शरीरमा अक्सिजनको मात्रा न्यून भई स्वास्थ्य अवस्था जटिल देखिएपछि उहाँलाई हेलिकोप्टरबाट उद्धारगरी सुर्खेत लगिएको बिरामीसँगै जानु भएकी डा. रोशनी प्रजापतिले बताउनुभयो । हेलिकोप्टरमा पनि केही समस्या हुन सक्छ भनेर म आफै बिरामीसँग छु, डाक्टर प्रजापतिले भन्नुभयो । 

चिकित्सकका अनुसार सुत्केरी शाहीको मुटुमा समस्या देखा परेको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि सुर्खेत पठाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको समन्वयमा थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकोप्टर मगाएर प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ । 

बच्चा जन्मिसकेको भए पनि सुत्केरी शाहीको मुटुमा समस्या देखा परेको र शरीर सुनिँदै गएका कारण कालीकोटमा उपचार सम्भव नभएकाले सुर्खेत लगिएको प्रजिअ नेपालीको भनाइ छ ।