• ५ जेठ २०८१, शनिबार

दलमा आबद्ध शिक्षक निगरानीमा, राजनीतिक आबद्धता पहिचान गर्न परिपत्र

blog

शिक्षा विकास तथा समन्वय एकाइ दैलेख ।

रजनी योगी

सुर्खेत, वैशाख २२ गते । सरकारी तथा सामुदायिक विद्यालयका शिक्षकको राजनीतिक पार्टीगत आबद्धता खोज्न थालिएको छ । पेसाभन्दा राजनीतिमा बढी क्रियाशील शिक्षकलाई कारबाही गर्नका लागि पार्टीगत आबद्धतासहितको विवरण मागिएको जनाइएको छ । 

शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतले राजनीतिक दलको सदस्यता लिएका, कार्यकारिणी समितिमा रहेका र महाधिवेशन प्रतिनिधि भएका शिक्षक/कर्मचारीको विवरण माग गरेको छ । सुर्खेतका नौ वटै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखालाई राजनीतिक आबद्धताको खोजी गर्न समन्वय, सहकार्य र कारबाही अघि बढाउन भनिएको छ ।

यसै गरी सुर्खेतका ४९२ वटा सामुदायिक विद्यालयलाई त्यस्ता शिक्षक/कर्मचारीको विवरण माग गरिएको शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतका प्रमुख महेशदत्त देवकोटाले बताउनुभयो । समन्वय एकाइले वैशाख १८ गते ४९२ सामुदायिक विद्यालय र नौ वटै स्थानीय तहलाई पत्राचार गरेको हो । कारबाही गर्ने, समन्वय गर्ने, छानबिन गर्ने कुरा सम्बन्धित स्थानीय तहको जिम्मामा लगाइएको उहाँले बताउनुभयो । 

शिक्षा मन्त्रालयले राजनीतिमा आबद्ध शिक्षकलाई दल त्याग्न दिएको निर्देशनसँगै स्थानीय तहबाट यसको कार्यान्वयन सुरु भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ दैलेखले पनि सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ । दैलेख जिल्लाभरका ४७८ सामुदायिक विद्यालयलाई पत्राचार गर्ने र समन्वयका लागि ११ वटै स्थानीय तहलाई आग्रह गर्ने तयारी भएको जनाइएको छ । दलीय आबद्धता भएका शिक्षकलाई कारबाही गर्न सहज होस् भनेर स्थानीय सरकारलाई समन्वयको जिम्मेवारी दिइने एकाइका निमित्त प्रमुख रतन विष्टले बताउनुभयो । 

जुम्ला जिल्लामा राजनीतिमा आबद्ध शिक्षकलाई कारबाही प्रक्रिया अघि बढिसकेको छ । जिल्लाको चन्दननाथ नगरपालिकाको एउटा सामुदायिक विद्यालयका एक शिक्षकमाथि छानबिन थालिएको छ । सार्वजनिक सूचना जारी गरेर राजनीतिक आबद्धताको खोजी गरिने शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाले जनाएको छ । आठ वटा स्थानीय तह र १७४ वटा सामुदायिक विद्यालयलाई पत्राचार गर्न लागिएको एकाइ प्रमुख रमेश मल्लले बताउनुभयो ।

यसै गरी जाजरकोटमा पनि एक जना शिक्षकलाई कारबाही गर्न परिपत्र गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थप छानबिन गर्न शिक्षा विकास तथा समन्वय एकाइ जाजरकोटलाई पत्राचार गरेको हो । एकाइले सम्बन्धित पालिकालाई जानकारी गराएको छ । जिल्लाको जुनीचाँदे गाउँपालिकाको एक विद्यालय अनुसन्धानको दायरामा छ । विवरण यकिन गरी कारबाही प्रक्रिया अघि बढाइने शिक्षा विकास तथा समन्वय एकाइ जाजरकोटका निमित्त प्रमुख तिलक भट्टराईले बताउनुभयो । ४२३ सामुदायिक विद्यालयलाई समेत विवरण मागसहित पत्राचार गरिएको उहाँको भनाइ छ ।

मुगुमा पनि शिक्षकमाथि अनुसन्धान प्रक्रिया थालिएको छ । जिल्लाको छायानाथ रारा नगरपालिकाको एक सामुदायिक विद्यालयका शिक्षकमाथि नगरपालिकाले अनुसन्धान थालेको छ । शिक्षकको विवरण प्राप्त भइसकेकाले कारबाहीका लागि प्रक्रिया थालिएको नगरपालिकाले जनाएको छ । अन्य स्थानीय तहबाट समेत प्रारम्भिक जानकारी आइरहेको र सम्बन्धित स्थानीय तहलाई अनुसन्धानका लागि भनिएको शिक्षा विकास तथा समन्वय एकाइ मुगुका निमित्त प्रमुख खड्कबहादुर भियालले बताउनुभयो । 

उहाँका अनुसार यही वैशाख १८ गते चार वटै स्थानीय तह र १४० वटा सामुदायिक विद्यालयलाई पत्राचार गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाले पनि शिक्षकको राजनीतिक आबद्धता खोजीका लागि प्रक्रिया अघि बढाएको छ । जिल्लाका आठ वटै स्थानीय तह र ११५ वटा सामुदायिक विद्यालयमा पत्राचार गर्ने तयारी भइरहेको शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाले जनाएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८१ वैशाख ४ को मन्त्रीस्तरीय निर्णय अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको राजनीतिक पार्टीगत आबद्धता र सक्रियताका सम्बन्धमा अनुसन्धान गरेर कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको थियो । शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले शिक्षकलाई राजनीतिक दलसम्बन्धी आबद्धताका लागि रोक लगाएको छ । शिक्षा मन्त्रालयले ऐनको प्रभावकारी कार्यान्वयनका लागिसमेत मातहत निकायमा निर्देशन दिएको हो ।