प्रेमराज सिम्खडा
कालिकोट, वैशाख २१ गते । हिमाल तथा पहाडमा ढुवानीको भरिलो साधनका रूपमा परिचित खच्चर बिस्तारै हराउन थालेका छन् । सामान ढुवानी गर्ने हिमाली ट्रकको उपनाम पाएका खच्चर सडक पुगेसँगै हराउन थालेका हुन् ।
अहिले कालिकोटका कुनै पनि ठाउँमा खच्चर छैनन् । रास्कोट २ का उदयराम चौलागाईंले गाउँमा सडक नहुँदा नौ वटा खच्चर किनेर समान ढुवानी थाल्नुभयो । गाउँमा सडक थिएन । कर्णाली कोरिडोरको हुल्म जितेबाट रास्कोट, पलाँता क्षेत्रमा सडक बिस्तार नहुँदा चौलागाईंले किनेका नौ खच्चरले व्यापारीको सामान मात्र होइन गाउँका विभिन्न निमार्ण सामग्री समेत बोक्ने गरेका थिए ।
पछिल्लो समयमा सडक पुगेसँगै खच्चरले काम पाउन छोडेपछि चौलागाईंले ती खच्चर बिक्री गर्नुभयो । २०७२ साल तिरको कुरा हो । नौ खच्चरले ढुवानी गरेको ज्यालाले एक जना खच्चर चालक(हेरालो)लाई ज्याला दिएर मासिक एक लाख हजारदेखि एक लाख ६० सम्म आम्दानी हुने गरेको थियो । तर गाउँमा सडक पुगेपछि सबै समान व्यापारी र निमार्णकर्ताले गाडीमार्फत ढुवानी गराउन थालेपछि हिमाली ट्रकले बजार पाउन छोडे । चौलागाईं जस्तै रास्कोट २ का तुलाराज योगी, बर्गराज सिम्खाडा, गज्जवहादुर बमले पनि खच्चर व्यवसाय गरिरहेका थिए । अहिले भने खच्चरको सट्टा कसैले ट्रक किनेर ढुवानीकै काम गरिरहनु भएको छ भने कसैले खुद्रा व्यापार र कसैले फर्निचर व्यवसाय गरिरहनुभएको छ । रास्कोट १ का गज्जवहादुर बमले तीन वर्ष मेलेसिया बसेको आम्दानीले खच्चर किनेर र खच्चरकै कमाईले सहरमा फर्निचर व्यवसाय सुरु गरेको बताउनुभयो।
गाउँमा सकड पुगेपछि खच्चर बेच्नुपर्याे । एक खच्चर बराबर ९० हजार मूल्यमा बाजुरातिर बिक्री गरे, त्यही रुपियाँले फर्निचर व्यवसाय सुरु गर्दा राम्रै आम्दानी भइरहेको बमको भनाइ छ । बमले सुरुमा खच्चरलाई हिमाली ट्रक भनेर भन्ने गरेको सुनाउनुभयो । "कसैले खच्चर गोठालो भन्थे कसैले हिमाली ट्रकको मालिक भन्थे । दिन सबैका आउने रहेछन्। अहिले सडक नपुगेको ठाउँमा खच्चरले राम्रो काम पाएका होलान्, यता तिर छैन," बमले भन्नुभयो ।
सान्नीत्रिवेणी ६ का नमराज सज्यालले २०५२ साल तिर कालीकोटको पोत्मारा साना जलविद्युत आयोजनाको काम हुँदा सुर्खेतबाट खच्चरमार्फत् सामान ढुवानी गरिँदै आएको अहिले जस्तै लाग्ने गरेको बताउनुभयो । बिस्तारै सडक विस्तार भएपछि सुर्खेत देखि ढुवानी गदै आएका खच्चरले जिते, लालीघाटबाट समान ढुवानी गरे, अहिले त यहाँ खच्चर देखिन छोडेको सज्यालले बताउनुभयो । यसरी विकासले पुरानोलाई विस्थापित गदै जाने रहेछ, र इतिहासमा सीमित गर्ने रहेछ पेसाले शिक्षक सज्यालले भन्नुभयो ।