• १३ असोज २०८१, आइतबार

सिँचाइ पुगेपछि खेत हरियाली

blog

फाइल तस्बिर ।

कालीकोट समाचारदाता 

कालीकोट, वैशाख २१ गते । कालीकोट जिल्लाका अधिकांश भागमा गहुँ बाली खडेरीले सुकिरहेका बेला रास्कोट नगरपालिका–९ को थोल्म जिउलो (फाँट) भने हरियो देखिन्छ । लामो समयको खडेरीले पनि थोल्म जिउलोलाई असर गरेको छैन । जिउलोका लागि दुई वटा सिँचाइ कुलो भएकाले किसानले पालैपालो सिँचाइ गर्दा गहुँ बाली सुक्नबाट जोगिएको हो । 

स्थानीय शङ्करप्रसाद बरालले दुई वटा सिँचाइ कुलो भएकाले खडेरीबाट गहुँ खेती जोगाउन सकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो जिउलोमा दुई कुला छन् । मुसेकुला र थोल्म कुलाको पानीले पालैपालो सिँचाइ गर्दा लामो खडेरी पर्दा पनि असर परेको छैन ।” पानीका मुहान सुकेर फुगाडखोलामा पानीको मात्रा घट्दा पनि मिलेर सिँचाइ गर्दा आजसम्म गहुँ राम्रो बनाउन सकिएको उहाँको भनाइ छ । 

खडेरीका कारण रास्कोटका अन्य वडामा भने सिँचाइ सुविधा नहुँदा गहुँ सुकेर खर जस्तै भएको छ । सिँचाइ कुलो भएकाले फुकोट–९ को थोल्म गाउँको जिउलो भने खडेरीमुक्त बनेको छ । पछिल्लो समयमा गाउँमा हुने डोजरे विकासले पनि पानीका स्रोत घटिरहेका छन् । रास्कोट नगरपालिका–८ का मदनराज बरालले स्थानीय सरकारले विकासका नाममा डोजर प्रयोग गर्दा मुहान सुकेको जनाउनुभयो । जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरतबहादुर बस्नेतले सिँचाइ सुविधा भएका ठाउँमा उत्पादन राम्रो हुने गरेको बताउनुभयो ।