• ८ जेठ २०८१, मङ्गलबार

मुगुमा अघोषित लोडसेडिङले नागरिकलाई सास्ती

blog

हरिकृष्ण ऐडी
मुगु, वैशाख १९ गते । 
मुगुको सदरमुकाम पछिल्लो पटक  राष्ट्रिय प्रसारण लाइनमा जोडिएदेखि दैनिक बेलुकाको लोडसेडिङले नागरिकले सास्ती खेप्नु परेको छ ।

घोषित रूपमा लोडसेडिङ नभए पनि यहाँ छिनछिनमा बत्ती जाने गरेको छ । एक–दुई मिनेटदेखि पाँच–सात मिनेटको दौरानमा दैनिक दर्जनौँ पटक बिजुली जाने आउने गरेको छ ।

छायाँनाथ रारा नगरपालिका वडा नं ७ का स्थानीय समाजसेवी श्याम बहादुर शाहीका  अनुसार यहाँ यसरी नै बिजुलीको जुहारी चल्ने गरेको छ । बेलुकाको समयमा  छिनमा आउने र छिनमा जाने गर्दा यहाँका ज्येष्ठ नागरिक र विद्यार्थीलाई प्रत्यक्ष सास्ती खेप्नुपरेको छ । जिल्लामा राष्ट्रिय प्रसरण लाइन जोडिएदेखि दिनमा दर्जनौँ पटक बिजुली आउने र जाने गरेको उहाँ बताउनुहुन्छ । ‘‘दैनिक दर्जनौँ पटक लोडसेडिङ भइरहेको छ । नेपाल विद्युत प्राधिकरणले देश लोडसेडिङमुक्त भएको घोषणा गरेको थियो । यो घोषणा   कर्णालीमा किन लागू हुँदैन ?,’’ उहाँको प्रश्न ?

शाहीका अनुसार बेलुकाको समयमा बत्ती नगएको कुनै दिन नै छैन, दैनिक कुनै न कुनै बेला बत्ती गइहाल्छ ।

स्थानीय ज्येष्ठ नागरिक खम्म बमले घोषित रूपमा लोडसेडिङ नभए पनि छिनछिनमा हुने अघोषित लोडसेडिङले आफूहरू हैरान भएका बताउनुभयो । हामी ज्येष्ठ नागरिकलाई बेलुकाको समयमा उज्यालोका लागि वैकल्पिक उपाय  दियालो  प्रयोग गर्दा श्वासप्रश्वासमा  असाध्यै पीडित रहेको उहाँले गुनासो गर्नुभयो ।

छिनछिनमा बिजुली बत्ती जाँदा काममा बाधा पुग्ने गरेको सदरमुकाम गमगढीमा स्टेशनरी व्यवसायी गर्दै आएका सन्तोष मल्लले बताउनुभयो । फोटोकपी र कम्प्युटर मेसिनको  कामका लागि छिनछिनमा मेसिन चलाउनुपर्ने भएर समस्या हुने गरेको उहाँले बताउनुभयो ।

यता गमगाढ जलविद्युत वितरण केन्द्रका कार्यालय प्रमुख साजन ऐडीका अनुसार बाँकेको कोहलपुरमा रहेको सबस्टेशनबाट प्रसारण लाइन सिधै  विस्तार भएकाले बेलाबखत अघोषित लोडसेडिङमा समस्या आएको हो । साबिक कर्णालीका जिल्लाका लागि सुर्खेतमा १३२ केबी  विद्युत उत्पादनको सबस्टेशन प्रसारण लाइन बन्दै गरेको छ । सम्भवता यही आउँदो असोज महिना भित्र उक्त योजना सम्पन्न हुनेगरी काम भइराखेको छ कार्यालय प्रमुख ऐडीले भन्नुभयो ।