• ९ जेठ २०८१, बुधबार

हाब्रेको खोजी गर्न जङ्गलमा क्यामरा

blog

जाजरकोट समाचारदाता

जाजरकोट, वैशाख १९ गते । दुर्लभ वन्यजन्तु हाब्रे (रेड पान्डा) को खोजी गर्न जिल्लाको बारेकोट गाउँपालिकाका सामुदायिक वनमा क्यामरा जडान गरिएका छन् । गाउँपालिका वडा नं. ३ मा रहेको फूलबारी खाली सामुदायिक वन र वडा नं. ४ स्थित ढोटाचौर सामुदायिक वनमा क्यामरा जडान गरिएका छन् । 

गत असार २० गतेदेखि जडान गरिएको क्यामरामा रेड पान्डाको बासस्थान रहेको ठाउँमा अन्य स्तनधारी वन्यजन्तुको पहिचान गर्नसमेत क्यामरा जडान गरिएको थियो । डाँफे युवा क्लब जाजरकोटका कार्यक्रम संयोजक भूपलाल केसीले रेड पान्डा नेटवर्क र डाँफे युवा क्लबको साझेदारीमा सञ्चालित पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण कार्यक्रम अन्तर्गत बारेकोट गाउँपालिका र डिभिजन वन कार्यालय जाजरकोटको सहकार्यमा क्यामरा जडान गरिएको जानकारी दिनुभयो ।

रेड पान्डालगायत अन्य वन्यजन्तुको बासस्थानको अवस्थाबारे विस्तृत अध्ययन गर्नका लागि क्यामरा जडान गरिएको रेड पान्डा नेटवर्कका कार्यक्रम अधिकृत दिनेश घलेले बताउनुभयो । दुई वटा सामुदायिक वनमा २२ वटा क्यामरा ४५ दिनमा जडान गरिएका छन् । यसअघि जडान गरिएका क्यामरामा रेड पान्डा, हिमाली भालु, चरी बाघ, रतुवा, घोरल, हिमालय थार, बँदेललगायतका वन्यजन्तु भेटिएका थिए । २० प्रजातिका वन्यजन्तु क्यामरामा कैद भएको बताइएको छ ।